काठमाडौं/ शेरबहादुर खड्का स्मृति केएनपी चौथो राष्ट्रिय महिला भलिबलको उपाधिका लागि दुई विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लव र नेपाल पुलिस क्लवले प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनल खेल मंगलबार हुने छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहल सोमबार भएको पहिलो सेमिफाइनलमा एपीएफले शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा हराउदै फाइनलमा स्थान बनाएको हो । साविकको विजेता समेत रहेको एपीएफले न्यु डायमण्डलाई २५–१८, २१–२५, २५–१० र २५–२३ को सेटमा हराउदै फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिता अन्तर्गत सोमबार नै भएको दोस्रो सेमिफाइनलमा पुलिसले पश्चिमाञ्चल भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पुलिसले पश्चिमाञ्चललाई २५–१९, २५–१५ र २५–२२ को सेटमा हराउदै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुनेले समान ५ – ५ हजार पुरस्कार पाउनेछन् । यस्तै आयोजकले एक खेलाडीलाई नगद १० हजारसहित शेरवहादुर खड्का स्पेशल अवार्डबाट सम्मान गर्ने छन् ।