शनिश्चरे ,मोरङ । पुलिस क्लबले झापाको दमकमा जारी ‘प्रथम दमक गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिको दावेदारीका लागि आफुलाई प्रस्तुत गरेको छ । मंगलवारको पहिलो सेमीफाइनल खेलमा पुलिसले उत्तिकै शक्तिशाली सशस्त्रको एपीएफ टीमलाई १–० गोल अन्तरले पराजित गरी आफुलाई फाइनलमा प्रवेश गराएको हो ।
दमक नगरपालिकाको खेलकुद विकास समितिले दमक बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना गरेको प्रतियोगिताको सो खेलमा पूर्वाद्र्धको ३८ औं मिनटमा पुलिसका नीरकुमार राईले गरेको गोल नै अन्तत खेलको निर्णायक वन्न पुग्यो ।
खेलको १२ औं मिनेटमा पुलिसका दिनेश राजवंशीले दिएको पासलाई अजित भण्डारीले हेडमार्फत गोलको प्रयास गरेका थिए । उनको हेडबल क्रसबारमाथिबाट बाहिरिएको थियो । २१ औं मिनेटमा पुलिसका अभिषेक रिजालको प्रहार पनि गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । ६७ औं मिनेटमा एपीएफका बिकु लामाको पासमा हरि कार्कीले गरेको प्रहारलाई पुलिसका गोलकिपर किरण चेम्जोङले पञ्च गरेर बचाएका थिए । ७३ औं मिनेटमा एपीएफका सुदीप शिखाकारले गरेको प्रहार पनि गोलकिपर किरणले उत्कृट बचाऊ गरेका थिए । एपीएफको सशक्त प्रयास विफल भई अन्तत नीलको अवस्थामा हार व्यहोर्नु पर्यो । पुलिसको पनि अरु गोल थप्ने प्रयासलाई एपीएफले विफल वनायो ।
गोलकर्ता नीरकुमार नै खेलको म्यान अफ दी म्याच घोषित भई ११ हजार नगद प्राप्त गरे ।
वुधवार मनाङ् मस्र्याङ्दी र त्रिभूवन आर्मीबीच अन्तिम सेमीफाइनल खेल हुनेछ । तेस्रो क्वाटरफाइनलमा नेपाल प्रहरीले थ्रीस्टारलाई १–० ले हराउदै सेमीफाइनलमा प्रवेश गरेको थियो । एपीएफले मदनभण्डारी स्पोर्टस् एकाडेमीलाई ३–१ ले पराजित गरेर सेमीफाइनलको यात्रा तय गरेको थियो । गोल्डकपको विजेताले नगद १३ लाख ५१ हजार तथा उपविजेताले नगद ६ लाख रुपैया प्राप्त गर्नेछ । विजेताका लागि एनसेलले र उपविजेता टिमका लागि ६ लाखको पुरस्कार सूर्यदर्शन सहकारी संस्थाले प्रायोजन गरेको छ । १० टीमबीच वैशाख १९ गतेदेखि सुरु भएको गोल्डकप वैशाख २८ गतेसम्म चल्ने छ ।