शनिश्चरे । झापाको दमकमा जारी प्रथम दमक गोल्डकप फुटबल प्रतियोगितामा उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र पुलिस क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।
बुधवारको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरेपछि उसको भेट पुलिस क्लबसंग हुने पक्का भएको हो । सो खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्न पुग्यो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरका आधारमा खेलको छिनोफानो गरिएको थियो । टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरेका थिए । आर्मीका भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेको थिए । पेनाल्टीमा आर्मीका दीपक गुरुङ गोल गर्न चुकेका थिए ।
दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलको ३० औं मिनेटमा टंक बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । त्यसपछि मनाङका दीपक राईले ४७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए ।
खेलको १० औं मिनेटमा आर्मीका कप्तान भरत खवासको क्रस प्रहारलाई मनाङका विदेशी डिफेण्डर फ्लोरेन्टले हेडमार्फत क्लियर गरेका थिए । मनाङका विमल रानाको क्रस पासलाई सुजल श्रेष्ठले गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । ५३ औं मिनटमा आर्मीका गोलकिपर विकेश कुथुको हातबाट फुत्किएको बललाई मनाङका अन्जान विष्टले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । ६१ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पाएको अवसरलाई पुनः चुकाएका थिए । उनलाई मनाङका डिफेण्डरले बल प्रहार गर्न रोक्दै बल क्लियर गरेका थिए ।
खेलमा मनाङका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे । मनाङले उपाधिको लागि शुक्रबार नेपाल पुलिस क्लबसंग फाइनल खेल खेल्नेछ । गोल्डकपको विजेताले नगद १३ लाख ५१ हजार तथा उपविजेताले नगद ६ लाख रुपैया प्राप्त गर्नेछ । विजेताका लागि एनसेलले र उपविजेता टिमका लागि ६ लाखको पुरस्कार सूर्यदर्शन सहकारी संस्थाले प्रायोजन गरेको छ । बैशाख १९ देखि सुरु भएको प्रतियोगितामा ए डिभिजनसहित १० टिमको सहभागीता रहेको थियो ।