इटहरी/ राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने तेस्रो इटहरी कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भोली (शनिबार) इटहरीमा शूरु हुँदैछ । इटहरीको सेभेन स्टार क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल पुलिस क्लब काठमाडौं, महाकाली क्रिकेट क्लब महेन्द्र नगरसहित विराटनगर, काकरभिट्टा, सप्तरी, इलाम, इनरुवा र आयोजक टीमकोसहभागिता रहने आयोजकले जनाएको छ ।

प्रंतियोगितामा विजयी टीमले नगद ७५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेलाई नगद ४० हजार रुपैयाँसहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका सदस्य एवम् क्रिकेट प्रशिक्षक सीपी पौडेलले जानकारी दिए । प्रतियोगितामा म्यान अफ त सिरिज १० हजार, वेष्ठ वलर ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच एक हजार पाँच सय रुपैयाँको दरले प्रदान गरिने पनि उनले जनाए । प्रतियोगिता इटहरीस्थित डिभिएम स्कुलको खेल मैदानमा हुने र सह आयोजकको रुपमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था रहेको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । जेठ ५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पनि आयोजकले जनाएको छ ।