दमक । कडा प्रतिष्पर्धामाझ नेपाल पुलिस क्लबले झापाको दमकमा सम्पन्न ‘प्रथम दमक गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

उपाधिसँगै पुलिसले मोफसलकै सर्वाधिक पुरस्कार राशी १३ लाख ११ हजार समेत प्राप्त गरेको छ ।

दमक नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको शुक्रवारको फाइनल खेलमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबसँगको कडा प्रतिष्पर्धामा १– ० गोल अन्तरले उपाधि हात पार्न सफल भएको हो । यो सिजनका लागि पुलिस पहिलो उपाधि दावेदार वनेको छ ।

दुवै टीमबीच गोलरहित वराबरीको स्थितीलाई चिर्दै पुलिसका रेजिन सुब्बाले खेलको ८८ औं मिनटमा गरेको गोल नै निर्णायक वन्न पुग्यो । मनाङका किपर विशाल श्रेष्ठ गोल समाउन अगाडि बढेको बेला रोजिनले हेडमार्फत वल क्लियर गरेर गोलमा परिणत गराएका थिए । मनाङले ६ लाख ११ हजार नगद सहितको उपविजेताको उपाधि हात पार्यो ।

खेलको उत्तराद्र्धमा पुलिसमाथि मनाङले दवाव सिर्जना गरिरहेको थियो । दुवैतर्फ उत्तिकै शक्तिशाली खेलाडीबीचको कडा प्रतिष्पर्धाका कारण करीव ८ हजारको संख्यामा रहेका दर्शकहरुले रोमाञ्चक आनन्द लिएका थिए ।

पुलिसका अनन्त थापा कोचका हिसावले दमक पुगेका थिए । गोल किपर किरण चेम्जोङका साथै रविन पासवान, दिनेश राजवंशी, विक्रम धिमाल, सन्तोष हेमरन, अभिषेक रिजाल सहितका चर्चित र मजबुत खेलाडी पुलिसकातर्फबाट मैदान उत्रिएका थिए । मनाङका लागि विराज महर्जनको अगुवाईमा सुजल श्रेष्ठ, भिक्टर, दीपक राई, अञ्जल विष्ट सहितका उस्तै शक्तिशाली र माहिर खेलाडी मैदानमा दाबेदार थिए । बुधवारको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरेर आफुलाई फाइनलमा उतारेको थियो । सो खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गरेको थियो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरका आधारमा खेलको छिनोफानो गरिएको थियो । मंगलवारको पहिलो सेमीफाइनल खेलमा पुलिसले उत्तिकै शक्तिशाली सशस्त्रको एपीएफ टीमलाई १–० गोल अन्तरले पराजित गरी आफुलाई फाइनलमा प्रवेश गराएको थियो ।

गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले नगद ६ लाख ११ हजार रुपैया प्राप्त गर्नेछ । विजेताका लागि एनसेलले र उपविजेताको पुरस्कार सूर्यदर्शन सहकारी संस्थाले प्रायोजन गरेको छ । दमकलाई खेलकुद क्षेत्रबाट आफ्नो पहिचान स्थापित गर्न बैशाख १९ देखि सुरु भएको प्रतियोगितामा ए डिभिजनसहित १० टिमको सहभागीता रहेको थियो ।