इटहरी । इटहरीमा शनिबारदेखि तेस्रो इटहरी कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शूरु भएको छ ।डिभिएम स्कुलको खेल मैदानमा शूरु भएको सो प्रतियोगिता जेठ ३ गते सम्म सञ्चालन हुने छ । सेभेन स्टार क्लबको आयोजनामा भएको सो प्रतियोगितामा क्रिकेटका राष्ट्रिय स्तरका खेलाडीको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । प्रतियोगिताको उद्घाटन खेल नेपाल आर्मी क्लब र सप्तरी ११ बीच भएको खेलमा आर्मीले विजयी शूरुवात गरेको छ । आर्मीले सप्तरीलाइ ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय १७ रनको योगफल तयार गरेको थियो । जसमा विकास दासले सर्वाधिक २३ रन बनाउदा मेहबुब आलमले १७ र राहुल बिकले ११ रन बनाए । बलिङतर्फ आर्मीका चन्द्र साउद र साहब आलमले २–२ विकेट लिए ।

१ सय १८ रनको बिजयी लक्ष्य आर्मीले १७ दशमलव १ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । आर्मीका लागी राहुल बिश्वकर्माले २१ रन बनाउदा अनिल मण्डलले १९ रन बनाए । बलिङतर्फ सप्तरीका विबेक यादवले २ विकेट लिए । खेलको म्यानअफ द म्याच आर्मीका हरिकृष्ण झा घोषित भए । उनले १५ सय नगद र टफी प्राप्त गरेका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब काठमाडौं, महाकाली क्रिकेट क्लब महेन्द्र नगरसहित विराटनगर, काकरभिट्टा, सप्तरी, इनरुवा र आयोजक टीमकोसहभागिता रहने छ । प्रंतियोगितामा विजयी टीमले नगद ७५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेलाई नगद ४० हजार रुपैयाँसहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका सदस्य एवम् क्रिकेट प्रशिक्षक सीपी पौडेलले जानकारी दिए । यसै गरी म्यान अफ त सिरिज १० हजार, वेष्ठ वलर ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याट एक हजार पाँच सय रुपैयाँको दरले प्रदान गरिने उनले बताए । प्रतियोगिताको सह आयोजकको रुपमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था रहेको छ । आइतबारको खेल इनरुवा सुनसरी र झापा बीच हुने प्रतियोगिता संयोजक केदार श्रेष्ठले जानकारी दिए ।