दक्षिण अफ्रिकामा भएको मण्डेला शताब्दी (सेन्चुरी) कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । स्पेनिस च्याम्पियन बार्सिलोनाले दक्षिण अफ्रिकी च्याम्पियन मामेलोडी सनडाउन्सलाई ३–१ ले हराउँदै उपाधि उचालेको हो ।
जोहनसबर्गमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेज, उसमान डेम्बेले र आन्द्रे गोमेजले गोल गरे । मालेलोडी सनडाउन्सका लागि सिबुसिसो विलाकाजीले एक गोल फर्काए । यो खेलमा मेस्सी अन्त्यतिर मैदान छिरेका थिए ।
स्वारेजले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । त्यसपछि विलाकाजीले एक गोल फर्काए । तर डेम्बेले र गोमेजले गोल गरेपछि भ्रमण टोली बार्सिलोना विजयी भयो ।
नेलशन मण्डेलको जन्मभएको १०० वर्ष पुगेको अवसरमा दक्षिण अफ्रिकामा विशेष सेलिब्रेशन चलिरहेको छ । त्यहि अन्तर्गत यो मैत्रीपूर्ण खेल भएको हो ।
दक्षिण अफ्रिकाका पहिलो कालो जातिका राष्ट्रपति मण्डेलको सन् २०१३ को डिसेम्बरमा ९५ वर्षको उमेरमा निधन भएको थियो ।