मोरङ /उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले प्राकृतिक स्रोतमा एकपछि अर्को हालिमुहाली गरेको खुलासा भएको छ । केही साता अघि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र प्रदेश सांसद कुशल लिम्बू सहित मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य लगायतको टोलीले मेयर फागोको अगुवाईमा भएको सोल्टी र मिक्लु खोला दोहनको निरीक्षण गरेका थिए । सो निरीक्षणसँगै खोला दोहनमात्र नभएर मेयर फागो विभिन्न व्यवसायिक संस्था र उद्योगमा विना लगानी साझेदारी बनेको थप खुलासा भएको हो । ब्यवसायीहरुले शक्ति र पदको आडमा हिस्सेदारी खोज्नेहरुलाई “तिघ्रे पार्टनर”को संज्ञा दिने गरेका छन् । उर्लाबारीका केही निजी विद्यालय र अस्पतालमा समेत मेयर फागो बिना लगानीको साझेदार बनेको पाइएको छ ।

मेयर फागोका भान्जा सुरेन्द्र लिम्बू मुख्य सञ्चालक रहेको उर्लाबारी १ स्थित पूर्वेली क्रसर उद्योगमा विना लगानी फागोले १२ प्रतिशत साझेदारी पाएका हुन् । पदको आडमा मेयर फागोले मापदण्ड विपरित सो क्रसर उद्योगलाई सञ्चालनमा ल्याउन भूमिका खेलेवापत १२ प्रतिशतको हिस्सेदारी पाएको वताइएको छ । क्रसर सञ्चालन समूहका अध्यक्ष गोविन्द भट्टराईका अनुसार पूर्वेली क्रसर करिब ७ करोड लगानी गरी सञ्चालनमा ल्याइएको हो । सार्वजनिक स्थल, खोला र मानव वस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने प्रावधान रहेपनि बक्राहा खोलाकै धारमा डेढ महिनाअघि सो क्रसर उद्योग सञ्चालन गरिएको छ । गुम्बा, विद्यालय र मानव वस्तीकै बीचमा क्रसर सञ्चालन भएको विषयमा जानकारी गराउँदा उर्लाबारी वडा नं. १ का अध्यक्ष मचिन्द्र कार्कीलाई मेयर फागोले हप्किदप्की गर्दै थर्काएको स्थानीयले बताएका छन् । स्रोतका अनुसार वडाध्यक्ष कार्कीले गर्ने कार्यसम्पादनमा समेत मेयर फागोले हस्तक्षेप गर्ने गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट विजयी वडाध्यक्ष कार्कीका प्रतिद्धन्द्धी कांग्रेसका गोविन्द भट्टराईले सो क्रसर खोल्न मेयर फागोसँग सेटिङ मिलाएको सम्बद्ध स्रोतले जनाएको छ । सो क्रसर खुलेसँगै स्थानीयबासीको बालीनाली धुलोले ढाकिएको छ भने दिनहुँ गुड्ने ट्रिफरका कारण ग्रामीण सडकको अवस्था दयनीय बनेको छ । एक स्थानीयले भने बिद्यालय जाने बालबालिकाहरु ट्रिफरका कारण दुर्घटनाको जोखिममा पर्ने खतरा देखिएको छ । यस्तै धुँलोको कणका कारण मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने अवस्था छ ।

उता नगरपालिकामा आउने सेवाग्राहीसँग सेटिङकै भरमा विना लगानी मेयर फागो विभिन्न ब्यवसायिक संस्थामा साझेदारी बन्ने गरेको खुलेको छ । उर्लाबारी नगरपालिकाका प्रवक्ता उर्लाबारी ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले पनि सार्वजनिक कार्यक्रममा मेयरको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएका छन् ।