बेलबारी । मोरङको बेलबारी चिसाङ साझेदारी वनले वल प्रयोग गरेर रुख कटान गर्ने र उपभोक्ताहरुलाई धरपकड गरि ज्यादती गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले त्यसको विरुद्धमा उत्रने जनाएको छ । सोमवार मोरङको बेलबारीमा सामुदायिक वनकासामुदायिक वन उपभोक्ता महासंघ केराबारी र जिल्ला महासंघले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि घटना बारे जानकारी गराउदै सो बताएका हुन् । केराबारी ९ को बेलचौरीमा विवादित वनेको वन क्षेत्रको विषयमा छलफल र संवाद चलिरहेको अवस्थामा वन कार्यालयले रुख काट्ने मेसिन खोसिएको विषयमा उपभोक्ताहरुलाई धरपकड गरेर अनावश्यक दुख दिएको प्रति महासंघले आपत्ती जनाएका हुन् । बेलचौरीका उपभोक्ताहरुले २५ वर्ष अगाडि देखि संरक्षण गर्दै आएको वन क्षेत्रमा स्थानीयलाई जानकारी नदिई र सहमती नगरी रुख कटान गरिएपछि उपभोक्ताहरुले रुख कटानमा दुई साता अगाडि देखि अवरोध गर्दै आएका थिए । स्थानीयको मागलाई सम्वोधन भएपछि मात्र रुख कटान गर्ने साझेदारी र वनका प्रतिनिधि संग भद्र सहमती भएको थियो । तर सहमति विपरित साझेदारीका ठेकेदारहरुले शनिवार साँझ रुख कटान गरेपछि स्थानीय उपभोक्ताहरुले मेसिन खोसेर राखेका थिए । उपभोक्ताहरुले छलफल र वार्ता बाट निकास खोज्दा खोज्दै एक्कासी सोमवार विहान दुईजना उपभोक्ताहरुलाई धरपकड गरिएको उपभोक्ता महासंघ केराबारीका अध्यक्ष खगेन्द्र सुवेदीले जनाएका छन् । स्थानीय लालबहादुर लिम्वु र राम धामीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई हाल सेक्टर वन कार्यालय बेलबारीमा बुझाईएको छ । जवकी बेलचौरी सामुदायिक वनका उपभोक्ताहरुले उपभोक्ताहरुको मागलाई सम्वोधन गरेर मात्र रुख कटानको माग गर्दै इलाका वन,सेक्टर वन र साझेदारी वनलाई माग पत्र बुझाएका थिए । तर मागलाई वेवास्ता गर्दै पत्र बुझाएको भोलि पल्टै साझेदारी वन ठेकेदारहरुले साँझको समयमा रुख कटान गरेपछि स्थानीय उपभोक्ताहरुले अवरोध गरेका थिए । सोही क्रममा ठेकेदारले प्रयोग गरेका रुख काट्ने मेसिन नियन्त्रणमा लिएर उपभोक्ताहरुले समुहको कार्यालयमा राखेका थिए । उपभोक्ताहरुले वन कार्यालय संग आफूहरुले पाउनु पर्ने वनको क्षेत्रफल छुट्याउनु पर्ने र हस्तान्तरण प्रक्रिया शुरु गर्न माग रहेको छ । सेक्टर वनका प्रमुख शत्रुघन देवले भने माथिको निर्देशन पालना गर्ने भन्दै जसरी भएपनि रुख कटान गर्ने जिकिर गरेको महासंघका अध्यक्ष सुवेदीले बताएका छन् । वन कार्यालय र साझेदारीको उक्त जबरजस्ती कार्यको घोर भत्र्सना गर्दै अध्यक्ष सुवेदीले त्यस्तो ज्यादतीको विरुद्धमा उपभोक्ताहरु लड्ने बताएका छन् । त्यसको सम्पूर्ण जिम्मेवारी पनि राज्य पक्ष हुनुपर्ने चेतावनी दिएका छन् । उता जिल्ला महासंघ मोरङका अध्यक्ष अग्नि पौडेलले वन कर्मचारीहरु अहिले साझेदारी वनलाई प्राथमिकता र सामुदायिक वनलाई कुण्ठित गर्न लागेको बताएका छन् । साझेदारी वनको विरुद्धमा महासंघ लामो समय देखि संघर्ष गर्दै आइरहेको बताउदै बेलचौरी घटनामा साझेदारी र वनको रवैया प्रति भत्र्सना गरेका छन् ।