बिर्तामोड । झापामा बिना दर्ताको एक संस्थाले व्यवसायीसँग कमिसन सङ्कलन गर्न थालेको छ । ‘वैदेशिक रोजगार व्यवसायी एजेन्ट, प्रतिनिधी सङ्घ’ झापाले ओरेन्टेशन व्यवसायीसँग कमिशन सङ्कलन गर्न थालेको हो । सङ्घले व्यवसायीलाई रकम जम्मा गर्न चेतावनीयुक्त पत्र काटेको छ । संघको अनुरोध नमान्ने ओरेन्टेशन ब्यवसायीको तालिम केन्द्रमा बैदेशिक रोजगारमा जाने कामदारलाई नपठाउन उर्दि पनि जारी गरेको छ । पत्रमा उक्त उर्दिको बर्खिलाबमा गए संघको सेवा सुविधाबाट बञ्चित गर्ने चेतावनी दिइएको छ । एकजना कामदार बाट ओरेन्टेशन बापत ओरेन्टेसन ब्यवसायीले ७ सय रुपैंयाँ असुल गर्न पाउँने बैदेशिक रोजगार बिभागको नियम छ । बिर्तामोडका ब्यवसायीले बिभागले तोकेको परिधिभित्र रहेर तालिम प्रदान गर्दै आएका छन् । स्थानीयस्तरमै ओरेन्टेशन तालिम पाउँने भएपछि रोजगारमा जाने कामदारलाई सहज भएको छ । झापामा गठन भएको भनिएको संघले एक कामदार बराबर ओरेन्टेशन ब्यवसायीले १ सय ५० रुपैंयाँ प्रदान गर्नुपर्ने उर्दी जारी गरेको छ । त्यो उर्दी नमान्ने ओरेन्टेसन ब्यवसायीको तालिम केन्द्रमा कामदार नपठाउन कडा चेतावनी पत्रमा दिइएको छ । दर्ता बिनाको सो संघको उर्दी पछि ओरेन्टेशन ब्यवसायी रुष्ट बनेका छन् । एकजना ओरेन्टेसन ब्यवसायी निरज निरौलाले सो संघले कमिशन माग्नु गैरकानुनी भएको बताए । उनले कुनै हालतमा ब्यवसायीलाई कमिशन नदिने बताए । यसका बिरुद्ध सम्बन्धित निकायमा न्यायको लागि पहल गर्ने उनले बताए । काठमाण्डौमा केन्द्रित ओरेन्टेसनलाई कामदारलाई सहजताको लागि निरौलाले झापा सहितका जिल्लामा एकबर्षदेखि ओरेन्टेसन तालिम प्रदान गर्न शुरु गरेका थिए । उनले झापामा ओरेन्टेसन तालिम दिने अनुमति लिएर काम शुरु गरेपछि अन्य ब्यवसायीले पनि त्यो तालिम दिन थालेका थिए । बिर्तामोडमा मात्र अहिले ८ वटा त्यस्ता तालिम केन्द्र सञ्चालनमा छन् । एकजना अग्रज बैदेशिक रोजगार व्यवसायीले रकम संकलनका बिषयमा आफु सहमत नभएको बताए । ‘मैले यो नगरौ भनेको थिए’ उनले भने ‘ मलाई चित्त बुझेको छैन, व्यवसायीबाटै उठाउ भनेको छु , तर साथीहरुले मानेनन् ।’ ‘संघ’ का झापा अध्यक्ष धनबहादुर पङधाकले संघमा दर्ता भएका ब्यवसायीले सञ्चालन गरेको तालिम केन्द्रमा मात्र कामदार पठाउने निर्णय भएको बताए । उनले संघले गरेको निर्णय नमान्ने ब्यवसायीको संघको सदस्यता खारेज गर्ने बताए । उनले बिर्तामोडका शेर्पा, प्रधान, पुर्वाञ्चल सनराइज र साउथ एशियन नामका तालिम केन्द्रमा मात्र कामदार तालिमका लागि पठाउने निर्णय भएको बताए । तर, उनले उल्लेख गरेका अधिकांस ब्यवसायीको मेनपावर नभएको जानकारहरुको भनाई रहेको छ । उनी अध्यक्ष रहेको संघ दर्ता प्रक्रियामा जाँन लागेको बताउँदै संघले तोकेको कमिशन दिन बाध्य ब्यवसायी नहुने समेत उनले बताए । झापामा तालिम प्रदान गर्न १० वटा संस्था रहेका छन । ति मध्ये चारवटा संस्थालाई मात्र संघले बैदेशिक रोजगारमा जाने कामदारलाई तालिम दिनका लागि निर्दैशन दिएको छ ।