[caption id="attachment_93775" align="alignnone" width="1536"] फायलफोटो[/caption]

भद्रपुर/ दशैंतिहार र छठ पर्वलाई लक्षित गरी इलाका प्रहरी कार्यालय कचनकवलले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।

कार्यालयले बुधबार आयोजना गरेको प्रारम्भिक सुरक्षा अनुशिक्षण तथा अन्तक्र्रिया कार्यक्रममा कचनकवलको सुरक्षा मजबुत बनाउने जनाएको हो । चाडपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सबैको साथ सहयोग लिएर विशेष सुरक्षा प्रदान गर्ने जनाएको छ ।

कचनकवल गाउँपालिका क्षेत्रभित्र रहेका बैङ्क तथा वित्तीय संस्था, सुनचाँदी पसल, बढी भिडभाड हुने हाटबजारलगायतका क्षेत्रमा प्रहरी परिचालन गरेर शान्तिसुरक्षा प्रदान गर्ने जनाएको छ । अन्य समय भन्दा चाडपर्वमा बढी जुवाजन्य खेल, मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, चोरी निकासी तथा पैठारी हुने भएकाले त्यसमा ध्यान केन्द्रित गरिने जिल्लाका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

चाडपर्वको समयमा धनजनको सुरक्षा, अपरिचित मानिसको पहिचान, सीमा क्षेत्रमा निगरानी, बैङ्क तथा नगद कारोबार हुने स्थानमा विशेष सुरक्षा दिइने डीएसपी बस्नेतले बताए । कारोबार हुने स्थानमा पर्याप्त उज्यालोको व्यवस्था गर्ने, प्रहरीको टेलिफोन नम्बर राख्ने, घरबाट टाढा जानु पर्ने भएमा छिमेकी वा प्रहरीलाई जानकारी गराउने, कारोबार हुने स्थानमा गुणस्तरीय सीसीटीभी क्यामेरा जडान गर्नुपर्नेलगायत विषयमा जानकारी गराए ।

अन्तक्र्रियामा सहभागी तीर्थकुमार दाहालले गुणस्तरीय सवारी साधन नभएका कारण घटना भइसकेपछि प्रहरीको उपस्थिति हुने भएको बताए । बैङ्कहरू बढेकाले सुरक्षाको चुनौती पनि उत्तिकै थपिएको उनको भनाइ छ । सुरक्षालाई मध्यनजर गरी ६० हजार लगानी गरेर साइरनको व्यवस्था गरे पनि पछिल्लो पटक काम नभइरहेको समितिका सचिव तोयानाथ दाहालले बताए ।

कचनकवल भारतीय सीमाक्षेत्रसँग जोडिएकाले आपराधिक कृयाकलाप हुने सम्भावना रहेको गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीले बताइन् । देशभर भइरहेको महिला हिंसाका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले माग गरिन् । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका प्रमुख अन्जरा आलमले कचनकवललाई सबै क्षेत्रबाट शान्तिसुरक्षा, अमनचैन कायम राख्न आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिएका थिए । प्रहरी तथा वित्तीय संस्थासँग समन्वय गरेर अपराध न्यूनीकरण गरिने आलमले जनाए ।

कार्यक्रममा रानीतिक दलको तर्फबाट देवीरमण भट्टराई, सहकारीबाट मित्र खनाल, सुनचाँदी व्यवसायीको तर्फबाट पदमबहादुर श्रेष्ठ, शिक्षक नवीन ढुङ्गाना, वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, पूर्व प्रहरी सङ्गठनका क्षेत्रीय अध्यक्ष देउमान बुढाथोकीलगायतले आ– आफ्नो धारणा राखेका थिए । स्थानीय व्यवसायी किरण लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा ३ नम्बर वडाध्यक्ष विजय राजवंशीले स्वागत गरेका थिए भने इलाका प्रहरीका सई उदय सम्शेर राणाले सञ्चालन गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, उद्योगी, व्यापारी, कर्मचारी, सुरक्षा निकाय, पत्रकारलगायतको उल्लेख्य उपस्थिति थियो ।