धनकुटा/ धनकुटा नगरपालिका–६ बीच बजारमा आ.व. ०७४/७५ मा निर्माण गरिएको शिवपार्कको बुधबार एक औपचारिक समारोहको बीच समुद्घाटन गरिएको छ ।
धनकुटा–६ को वडा कार्यालयबाट १० लाख, नगरपालिका कार्यालयबाट थप २ लाख र स्थानीय चन्दा दाताहरूबाट १ लाख ६९ हजार ३ सय ३३ रुपैयाँ गरी जम्मा १३ लाख ६९ हजार ३ सय ३३ रुपैयाँमा शिवपार्कको निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणको गन्तव्य बनाउने उद्देश्यले स्थापना गरिएको शिवपार्कको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङले रिबन काटेर समुद्घाटन गरेका छन् ।
‘जनप्रतिनिधिहरू पहिलो पटक स्थानीय सरकारमा आउने बित्तिकै नगरपालिकाको बजार क्षेत्रलाई पर्यटन प्रवद्र्धनका लागि नगरको मुख्य–मुख्य चोक र गल्लीहरू सिँगार्ने काममा लागेका छौं, गाउँलाई भने कृषि पर्यटनमा जोड दिएका छौं ।’ शिवपार्कको औपचारिक समुद्घाटन गर्दै नगर प्रमुख तामाङले भने ।
उनले आ.व.०७४/७५ देखि नै धनकुटा–६ र ७ मा पार्क र उद्यान निर्माण कार्यको थालनी गरेको स्पष्ट पारे ।
साथै उनले यस अघि नै धनकुटा–७ को चुवाको बोटमा ग्रिनपार्क तथा बुद्धपार्क निर्माण भइसकेको बताए । त्यसैगरी धनकुटा–७ परिचय मोडमा आ.व. ०७५/७६ को बजेट कार्यक्रमबाट एभोकार्डोको आकर्षक प्रतिमा निर्माण गर्ने थालिएको बताए । धनकुटालाई पर्यटन नगर बनाउने नगरपालिकाको धोकोलाई पूरा गर्न आम नगरवासीलाई सहयोग गर्न पनि प्रमुख तामाङले आग्रह गरे ।
त्यसैगरी वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठले शिवपार्कमा रहेको शिवको मन्दिर वि.सं. १९२५ सालमा आजभन्दा १ सय ९३ वर्ष पहिले जग्गाधनी स्व. शिवनाथ श्रेष्ठले स्थापना गरेको बताए ।
उनले पार्क बनाउन जग्गा दान गरेका धनकुटा–६ निवासी स्वर्गीय श्रेष्ठका धर्मपत्नी रेणु श्रेष्ठलगायत परिवारलाई निःशुल्क जग्गा प्रदान गरेको भन्दै धन्यवाद दिए । सो अवसरमा बौद्धिक विकास समाज धनकुटाका अध्यक्ष सुवासचन्द्र जोशिले ठाउँमात्र राम्रो भएर नहुने, पार्कवरिपरि बस्ने मान्छेको मन पनि राम्रो हुनु पर्नेमा जोड दिए ।
उनले मान्छेको अनुहारमात्र राम्रो भएर नहुने चरित्र राम्रो हुनु पर्नेमा जोड दिएका छन् । भिमसेन टोल टोलबस्ती सङ्गठनका अध्यक्ष बिनिता श्रेष्ठको अध्यक्षतमा सम्पन्न शिवपार्क उद्घाटन समारोहमा वडा नं.७ का वडाध्यक्ष जङ्गबहादुर आठपहरिया, सामाजिक सङ्घ–संस्थाको तर्फबाट द्रोर्णप्रसाद गुरागाईं, जग्गादाताको तर्फबाट दीपकगोपाल श्रेष्ठले धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन टोल सदस्य जीवन श्रेष्ठले गरेका थिए भने कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्य छहारी महिला समूह धनकुटा–६ की अध्यक्ष सुजता श्रेष्ठले राखेकी थिइन् ।