बिर्तामोड । विराट अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोडले आफ्ना शेयर सदस्यहरुलाई ‘अचम्वको पोको’ प्रदान गरेको छ । संस्थाको ९ औ वार्षिक साधारणसभाको अवसरमा शुक्रवार बिर्तामोडमा आयोजीत कार्यक्रममा एककेजी नून, एककेजी चिनी, एकपोका खानेतेल, नुहाउने र कपडा धुने सावनसहितको अचम्वको पोको दिएको हो । संस्थानका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष खरेलले झापामै पहिलो पटक अचम्वको पोको सदस्यहरुलाई दिएको बताए । एकहजार ५ सय एकजना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ५६ लाख ४७ हजार ८ सय रहेको छ भने आगामी बर्ष दुईहजार शेयर सदस्य र शेयरपुँजी ९० लाख पुर्याउने लक्ष्य लिइएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थाले ३ करोड ५६ लाख ४७ हजार २ सय १० रुपैयाँ कर्जा लगानी गरेको छ भने ३ करोड ५ लाख ८५ हजार ८ सय ३३ रुपैयाँ कर्जा असुली गरेको प्रतिवेदनमा छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता अनुप सापकोटा, उत्कृष्ट ऋणि लारेन्जेन मोक्तान, उत्कृष्ट बालबचतकर्ता माधव ओली र अनुसासित कर्मचारी गंगा अधिकारीलाई सम्मान गरिएको थियो । स्वागत लेखा समिति सदस्य पुनम घिमिरेले गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक प्रमुख सविना बस्नेत, संजिवनी साकोस अध्यक्ष याम चुडाल, बिर्तामोड वडा नम्बर ४ अध्यक्ष कुलप्रसाद संग्रौलालगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्ली प्रसाईले गरेका थिए ।