भद्रपुर । पछिल्लो समयमा महिला हिंसा तथा बलात्कारसहित विभिन्न अपराधिक क्रियाकलापका घटना बढेसँगै नगर क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै अस्थायी प्रहरी विट राखिएको छ । भद्रपुर वडा प्रहरी कार्यालयको सहकार्यमा ७ नम्बर वडा कार्यालय स्थित गार्मेन्ट चोकमा अस्थायी प्रहरी विट राखिएको हो । भद्रपुर नगरपालिका कार्यालयको सहयोगमा राखिएको अस्थायी प्रहरी विटको नगर प्रमुख जीवनकुमार श्रेष्ठले शुक्रवार उद्घाटन गरेका थिए । वडा अध्यक्ष विनोद पोखरेले प्रहरी विटको चाबी प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकाललाई हस्तान्तरण गरेका थिए । प्रहरी हवल्दारको कमाण्ड एक जना प्रहरी जवान अस्थायी रुपमा दैनिक खटाइने वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिए । वडा अध्यक्ष पोखरेलको अध्यक्षता तथा नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा एसपी ढकालले नगरको शान्ति सुरक्षालाई कायम राख्न सबैको साथ सहयोग आवश्यक रहेको बताए । आवश्यक्ता हेरेर विटलाइ आगामी दिनमा दिर्घकालिन बनाइने उनले बताए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख चन्द्रामाया श्रेष्ठ, झापा उद्योग सङ्घका अध्यक्ष टीकाराज ढकाल, पूर्व सांसद पुष्प पोखरेल लगायतले सीमासंग जोडिएको क्षेत्रमा समेत सुरक्षा प्रदान हुनेमा विश्वास लिएका थिए । कार्यपालिकाका सदस्य मित्रा भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव मुरारी पोखरेलले गरेका थिए ।