धरान/उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिस कुसियतले विराटनगर-धरानलाई धार्मिक सर्किट बनाउन प्रदेश सरकार लागेको बताएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा धरानमा आयोजित जैविक विविधता पार्क उद्घाटनका क्रममा मन्त्री कुसियतले धार्मिक सर्किटका लागि बजेटसमेत विनियोजन गरिसकेको बताए । विरानटगरको विराट राजाको महत्व र धरानको बुढासुब्बा, दन्तकालीको महत्वलाई जोड्न प्रदेश सरकार लागि परेको उनले बताए ।

उनले भने, ‘विराट राजाको महिमा र बुढासुब्बा, दन्तकाली मन्दिरको यो सर्किटलाई जोड्न सक्यौँ भने पर्यटक तान्न सकिन्छ ।’ उनले यो सर्किट भित्र सप्तकोशी, कोशी टप्पू वन्यजन्तु आरक्ष, वराहक्षेत्र मन्दिर, रामधुनी मन्दिरसँगै जाेडेर धार्मिक पर्यटनको आधार तयार पार्न प्रदेश सरकार लागेको बताए ।

तर प्रदेशको नयाँ संरचना भएकाले पर्यटन विभागमा कर्मचारीको अभाव रहेको उनले बताए । उनले भने, ‘पर्यटन विभागमा कर्मचारी छैन, धेरै चुनौती छ ।’

उनले प्रदेश १ मा पर्यटन, जैविक विविधताबाटै राम्रो आम्दानी लिन सकिने र युवाहरूलाई यही नै रोजगार सिर्जना गर्न सकिने तर्क गरे ।

‘प्रदेश १ का विभिन्न सम्भावना रहेकाले यसलाई राम्रो बनाउन सक्छौँ ।’ उनले सम्बोधनका क्रममा भने  प्रदेश १ को पर्यटनलाई गुरुयोजना बनाएर अघि बढेको उनले बताए ।

जैविक विविधता पार्कलाई प्रदेश १ को पर्यटन मन्त्रालयबाट १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको उनले उद्घोष गरे । यसलाई गुरुयोजना बनाएर अघि बढे आउँदो आर्थिक वर्षमा केही बजेट यसका लागि विनियोजन गर्ने उनले बताए । सोही क्रममा वातावरण तथा पर्यटन विकास केन्द्रको १५ औं वार्षिकोत्सव पनि मनाइएको थियो । नेकपाका नेता मुरारी सुवेदीले पर्यटनलाई अर्थमा रूपान्तरण गर्न सके मात्रै समृद्धि सम्भव हुने बताए ।

उनले २५ वर्षदेखि धरानको पर्यटनको चर्चा गरिए पनि हालै आएर मात्रै खाका कोरिन थालिएको बताए । त्यसक्रममा जैविक विविधता पार्कको कार्ययोजना प्रस्तुत गरिएको थियो ।

केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले पार्कको कार्ययोजना, चुनौती र सम्भावनाबारे प्रस्तुत गरे । पार्कमा रक गार्डेन, हेल्थ पार्क, वनभोज स्थल, हर्वल गार्डेन, फ्लावर व्रीज, बेम्बो म्युजिअम, फ्लावर व्रीजलगायत रहने जनाइएको छ ।