धनकुटा/ तोकिएभन्दा बढी शुल्क लिएको विरोधमा धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा लागेको अनिश्चितकालीन तालाबन्दी शुक्रबार खुलेको छ ।
विद्यार्थीहरूलाई लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति बनेपछि तालाबन्दी खुलेको हो । सिटिइभिटीले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल र अखिल क्रान्तिकारीले संयुक्त रूपमा तालाबन्दी गरेका थिए ।
विद्यार्थीहरूका प्रतिनिधि र क्याम्पस प्रशासनबीच बढी लिएको शुल्क फिर्ता गर्ने सहमति बनेपछि शुक्रबार साझबाट तालाबन्दी खुलेको हो । बढी शुल्क लिएको विषयमा ब्लाष्ट दैनिकले समाचार प्रकाशित गरेपछि अखिलले अल्टिमेटम दिँदै तालाबन्दीमा उत्रिएको थियो ।
क्याम्पसको प्रमुख द्वारमा तालाबन्दी भएपछि विद्यार्थीको पठनपाठन ठप्प बनेको थियो । सहमतीपछि क्याम्पस प्रशासनले पत्रकार सम्मेलन गर्दै आयोजना गरी एचएमा भर्ना भएकामध्ये ३६ जनालाई जनही ७५ हजार, ४ सयका दरले शुल्क फिर्ता गरेको बताएको छ ।
त्यस्तै सिएमएमा ३६ जना विद्यार्थीलाई जनही ४५ हजार र अनमीका ३६ विद्यार्थीलाई ३५ हजारको दरले शुल्क फिर्ता गर्ने दुवै पक्षबीच सहमति भएको पत्रकार सम्मेलनमा जनाएको छ ।
तीनै तहमा ४–४ जना गरी १२ जना विद्यार्थी पूर्ण छात्रवृति प्राप्त गरी अध्ययन गरिरहेकाले उनीहरूका विषयमा भने जानकारी दिइएको छैन् ।
पत्रकार सम्मेलनमा दुवै विद्यार्थी सङ्गठनको तर्फबाट अखिल क्रान्तिकारीका अध्यक्ष पदमराज रखाल, अखिलका जिल्ला संयोजक अङ्कित थापा, धनकुटा इन्स्टिच्युटका सञ्चालक एवम् प्राध्यापक सञ्जितकुमार सिंह, प्रशासकीय अधिकृत गोविन्द निरौलालगायत सहभागी थिए ।