बिर्तामोड । पाण्डव वचत तथा ऋण सहकारी संस्था अर्जुनधारा –५ ले छ जनालाई सम्मान गरेको छ । संस्थाको छैटो बार्षिक साधारणसभाको अवसरमा शनिवार लक्ष्मीपुरमा आयोजीत कार्यक्रममा संस्थाका जेष्ठ नागरिक, असल ऋणी र नियमित कारोवार गर्ने सदस्यलाई सम्मान गरेका हो । सम्मानित हुनेमा भिमबहादुर गिरी, विष्णुकुमारी बुढाथोकी, मात्रिका शिवाकोटी, निता श्रेष्ठ, गणेश रिजाल र मिना राई रहेका छन् । उनीहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । सभामा संस्थाका अध्यक्ष अर्जुन रेग्मीले प्रस्तुत गरेको प्रतिवेदनमा एकसय ४१ पुरुष, दुईसय ४६ जना महिला र ६ जना संस्थापक सदस्यसहित ३ सय ९३ जना सदस्य रहेको संस्थाको शेयर रकम ५८ लाख ४९ हजार ७ सय पुगेको उल्लेख छ । लगानीतर्फ एक करोड २८ लाख ७३ हजार ८ सय ८३ छ भने संस्थाको नाफा एकलाख २२ हजार ८ सय ५३ रुपैयाँलाई विभिन्न कोषमा विभाजन गरेको अध्यक्षको प्रतिवेदनमा छ । संस्थाका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल रहेका थिए । स्वागत संस्थाकी उपाध्यक्ष सीता सापकोटाले गरेको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारती, संस्थाका सल्लाहकार संयोजक एलवी गिरी, दहिझोडा सामुदायिक वनका सदस्य मुखमेल धिमाल, शेयर सदस्य रमा रिमाल, देवराज बुढाथोकी, वागेडाँगी सहकारीका अध्यक्ष उमानाथ लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका सचिव तेजकुमार गिरी र लेखा समिति संयोजक उमाकान्त लम्सालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव गिरी र सहसचिव पुष्प घलेले संयुक्त रुपमा गरेका थिए ।