राजविराज/ सप्तरीको सुरुङ्गा १ की ३५ वर्षिया उर्मिलादेवी सदा नावालक छोरासहित ५ सन्तान बोकेर एकाविहानै न्याय खोज्न गाउँ समाज चाहार्छिन् ।
दैनिक विभिन्न संघ संस्था, न्यायिक समिति तथा प्रहरी कार्यालयसम्म पुग्नु उनको नियति नै बनेको छ । यस्तो हाल बनाउने विरुद्ध जताततै उजुरी दिए पनि उनले अझ न्याय पाउन सकेकी छैनन्।
छोरा छोरीको लालन-पालन गर्न सम्पत्तिका नाममा केही नभएपछि त्यसको जोहो गर्ने बेलामा उनी एकाविहानै घरबाट टोल समाजदेखि प्रहरीसम्म पुग्ने गरेकी छिन्।
तर कतै कुनै सुनुवाई नभएपछि साँझ पर्दा पर्दैे निराश र थकित भएर घर फर्किन्छिन् । यो उनको विगत एक वर्षदेखिकाे दिनचर्या हो ।
उनलाई न्याय दिलाउन शनिबार जनचेतना दलित संगम मधुपट्टी सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी सहयोगका लागि पहल गरीदिन सरोकारवाला सबैसँग आग्रह गरेका छन्।
पत्रकार सम्मेलनमा काँखे बालकसहित उपस्थित भएकी पीडित महिला उर्मिलाको कथा व्यथा अत्यन्तै मार्मिक छ। छिमेकीबाटै यौन हिंसाको शिकार भएकी न्यायका लागि स्थानीय नेता, जनप्रतिनिधि मानवअधिकारकर्मी र प्रहरीसम्म गुहार्दा पनि आश्वासन बाहेक केही नपाएको सुनाईन्।
हालसम्म आधा दर्जन भन्दा बढी निकायमा उनले उजुरी दिईसकेकी छिन्। तर ‘मैले कुनै निकायबाट न्याय पाईन्न।’ यताबाट उता जानुस् भन्दै फर्काउछन्,
अन्याय बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् ‘न्याय माग्न सबै निकायमा पुगी सके अब कता जाने ?’
प्राप्त घटना विवरण अनुसार उर्मिलाका पति छैनन्। २ वर्ष अघि पति नारायणको मृत्यु भएपछि चार सन्तानको भरणपोषण उनका लागि फलामकाे चिउरा सावित भएको छ।
सन्तानको लालनपालनकै लागि उनी छिमेकी ३५ वर्षीय ओमप्रकाश यादवको घरमा काम गर्न सुरु गरिन्। घरमा भाडा वर्तन माझने र खेतीपातिसम्मको काम गर्ने उनले जिम्मेबारी पाएकी थिईन् ।
तर एक दिन घरमा कोही नभएको मौका छोपी यादवले आफूसँग जबरजस्ती यौन सम्पर्क गरेको उर्मिलाको भनाई छ। त्यसपछि ‘कसैलाई भन्यो भने तिमी र तिम्रो छोरा छोरीको लागि ठिक हुदैन भनि धमक्याउदै ओमप्रकाशले पटक-पटक यौन दुव्र्यवहार गरेको उर्मिलाको आरोप छ।’
आफू गर्भवती भएपछि विवाह गर्ने प्रलोभन देखाउँदै यौन शोषण गरेपनि दलित भएकै कारण आफूलाई स्विकार गर्न नमानेको उर्मिलाको भनाई छ।
यस विषयलाई लिएर गाउँमा बसेको पञ्चायतिमा ओमप्रकाशले गल्ती स्वीकारर्दे विवाह गर्ने कबोल गरेपनि पछि गएर बोली फेरेको उनले सुनाईन्।
हाल पाँचौ सन्तानको रुपमा काँखमा रहेका तीन महिनाका छोरा ओमप्रकाशकै शारीरिक सम्बन्धबाट जन्मेको उनले दावी गरेकी छिन्।
उनले बच्चा जन्मिनु अघि न्यायका लागि ईलाका प्रहरी कार्यालय कडरवोनामा पनि पुगेको बताईन् ।
त्यति बेला प्रहरीका एक जिम्मेबार अधिकारीले भनेका थिए ‘पहिले बच्चा जन्माउ अनि बच्चाको डिएनए जाँच गरेर आरोपीमाथि कारवाही गर्छु, उर्मिलाले भनिन्, ‘अहिले बच्चा जन्मिएपछि जाँदा पनि कहिले जिल्ला प्रहरी त कहिले अदालत जाँउ भन्छन्।’
आफू र आफ्ना पाँच सन्तानलाई दुई छाक खुवाउन पनि धौ-धौ परिरहेको अवस्थामा न्यायका लागि कता कता र कसरी जाने आफूलाई केही थाहा नरहेको उनले लाचारी सुनाईन्।
आफू र आफनो सन्तानको लालन पालन र सुरक्षाका लागि मैले चुप लागेर दुष्कर्म भोगी रहे तर आज झन् दोहरो मारमा परेको उनले सुनाईन्।
यता इलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरिक्ष सुरेन्द्र श्रेष्ठले पीडित महिलाको तर्फबाट ढिलोगरी उजुरी आउँदा पनि मानवीय आधारमा गर्नुपर्ने प्रयासहरु गरिएको बताउँछन्।
उनले आरोपी भनिएका ओमप्रकाशलाई पक्राउगरी एक रात थुनामा राखिएर सोध पुछ गर्दा आरोप स्वीकार्न तयार नरहेको बताए ।
तत्काल प्रमाण नदेखिएपछि भोली पल्ट मुक्त गरेका हौ, प्रहरी निरीक्षक श्रेष्ठले भने ‘त्यतिबेला बच्चा जन्मिएपछि डिएनए टेस्ट मार्फत कारवाही प्रकृिया अगाडी बढाउने देखिएकाले प्रहरीबाट त्यस्तो भनिएको होला अहिले त बच्चा नै जन्मि सकेपछि डिएनए टेस्ट गर्न सजिलो भएको छ।
डिएनए टेस्ट म्याच गरेको खण्डमा आरोपीमाथि अंश लगायतका मुद्दा सहजै दायर गरेर उर्मिलालाई न्याय दिलाउन सकिने प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ।
तर यसका लागि जिल्ला प्रहरी कार्यालयका महिला सेलमा सम्पर्क गर्न उनले सुझाव समेत दिएका छन्।
पीडित महिला उर्मिला आफू डिएनए परीक्षणको लागि तयार रहेको भन्दै तत्काल यसका लागि पहल गर्न सबैसँग आग्रह गरेकी छिन्।
न्यायका लागि उर्मिलालाई सहयाेग गरीरहेका दलित जनचेतना संगमका कार्यकारी निर्देशक गणेश कुमार रामले प्रहरीले ढिलाई गर्दा उर्मिलाको भविष्य अन्धकारमय बन्दै गएको भन्दै न्यायका लागि सरोकारवाल सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।