ताप्लेजुङ/मौसममा आएको खराबीका कारण बन्द भएको कञ्चनजङ्घा र पाथीभरा मन्दिर प्रवेशद्वारका रूपमा रहेको ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा आउदो सोमबारदेखि काठमाडौं ताप्लेजुङ हवाई सेवा सञ्चालनमा आउने भएको छ ।

निजि क्षेत्रको समिट एयरले नजिकिँदै गरेको दसैँ तथा तिहारको अवशर पारेर असोज १५ देखि सेवा सुचारु गर्न लागेको हो ।

समिटले अहिलेलाई सातामा एक पटक सेवा सञ्चालन गर्ने र यात्रुको चापका आधारमा अन्य दिन पनि हवाई सेवा थप गर्न सकिने अरुण टूेक ताप्लेजुङका सम्पर्क व्यक्ति प्रकाश शेर्पाले बताए ।

यसपटक भने उडान हुँदैन कि भनेर शंका नगर्नसमेत शेर्पाले आग्रह गरे । यसका लागि विभिन्न प्राविधिक कुराहरूसमेत सबै मिलाएकाले पनि उडान हुने उनको दाबी छ ।

यता बुधबार र शुक्रबार उडान भर्दै आएको नेपाल बायु सेवा निगमको उडान भने लामो समयदेखि हुन सकेको छैन ।

निगमका अनुसार जहाज मर्मत भईरहेकाले हाल उडान हुन नसकेको हो । असारदेखि तीन महिना मौषमका कारण उडान नियमित हुन नसके पनि त्यस पछि भने जहाज मर्मत भईरहेकाले नै उडान नभएको बताईएको छ ।

मेची राजमार्गअन्तर्गत पहाडी क्षेत्रको सडकमा पहिरो झर्नेलगायतका कारण दुर्घटनाको जोखिम अत्यधिक हुन्छ । प्रायः यात्रुले हवाई यात्रालाई नै रोज्ने गरेका छन् ।

बिरामीले पनि उपचारका लागि हवाईसेवा उपभोग गर्ने गरेका छन् । जिल्लामा बाह्य तथा आन्तरिक पर्यटकको ओहोरदोहोर निकै बाक्लो हुने गर्छ ।

२०२८ सालमा निर्माण भएको यो विमानस्थललाई चार दशकपछि झन्डै ९ करोडको लागतमा कालोपत्र गरिएको थियो ।

विशेषगरी कञ्चनजङ्घा हिमाल हेर्न आउने पर्यटक साथै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउने तीर्थालुहरूको समेत भीड लाग्ने समय भएकाले हवाई यात्रा थप प्रभावकारी रहनेछ ।

सोहि विमानस्थल हुँदै यहाँका विभिन्न पर्यटकीय स्थानको भ्रमणका लागि विदेशि तथा स्वदेशी पर्यटकहरू जाने गरेका छन् ।