तेह्रथुम/ खानेपानीको चरम समस्याले पिरोलिन्दै आएका जिल्लाको छथर गाउँपालिकाको केन्द्र शुक्रबारेका स्थानीयबासीलाई खानेपानी आएपछि राहत मिलेको छ ।

ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिती नेपालको सहयोग तथा देउराली सोसाईटी तेह्रथुमको सहजीकरणमा सञ्चालन भएको आयोजनाले यहाँका स्थानीयहरुलाई राहात मिलेको हो ।

खानेपानीका लागि ग्रामिण खानेपानी सरसफाई कोष विकास समिती नेपालको २९ लाख ५० हजार र स्थानीयबासीको केही श्रमदानमा आयोजना सम्पन्न भएको देउराली खानेपानी उपभोक्ता समितीका अध्यक्ष नारायण सुब्बाले बताए ।

आयोजना सम्पन्नसँगै शुक्रबारे बजार क्षेत्रको १ सय ३७ घर लाभान्भित भएका छन ।

खानेपानी उपभोक्ताहरुको घर घरमा मिटर जडान गरीएको समितीले जनाएको छ । समितीका अनुसार १ सय १८ घरमा मिटर जडान गरी सकिएको छ ।

अन्य घरमा मिटर जडान बाँकी रहेको समितीका उपाध्यक्ष लोकेन्द्र बहादुर लिम्बुले बताए ।

छथर गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले छथरबासीको खानेपानीको समस्यालाई दिर्घकालिन समस्या समाधानका निम्ती निती तथा कार्यक्रममा प्राथमिकताका साथ योजनाहरु अगाडी सारीएको बताए ।

मानव जीउनको निम्ती पहिलो आवश्यकता नै पानी भएकाले छथरबासीको समस्या समाधानका निम्ती गाउँपालिकाको तर्फबाट गत वर्षदेखी नै काम सुरु भईरहेको लिम्बुले बताए ।

छथरबासीको समस्या समाधानका निम्ती गत वर्ष नै डिप बाेरिङ प्रविधीबाट सुख्खाग्रस्त क्षेत्रमा खानेपानी वितरण सुरु गरीएको उनले बताए ।

खानेपानी आयोजना सञ्चालनमा स्थानीयहरुको महत्वपुर्ण भुमिकाले नै समयावधी भित्रै आयोजना सम्पन्न भएको देउराली सोसाईटी तेह्रथुमका प्रबन्र्धक निर्देशक कपिलदेब सिंघकले बताए ।

प्रयाप्त रुपमा खानेपानी अभावका कारण समस्या झेल्दै आएका स्थानीयको समस्या समाधान भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा शुक्रबारेका डिक बहादुर ठकुरीले बताए ।