इनरुवा/सुनसरीको इनरुवा ६ मधेशामा शनिबार जितिया पर्व मनाइएको छ । इनरुवा ६ मधेशा सहित झुम्का, औराबनी, खनार, सोनापुर, दुहवी लगायतका भेगमा शनिवार जितियाको अवसरमा विभिन्न कार्यक्रमहरु गरिएका छन् ।
इनरुवाको मधेशामा भने पहिलो पटक जितिया पर्व मनाइएको हो । वडाध्यक्ष कोषराज अधिकारीका अनुसार आफुले जानेसम्म यस पटकको जितिया गाउँकै पहिलो हो । कार्यक्रममा गाउँटोलबाट झाँकी निकालिएको थियो भने जनता माबि मधेशामा जातीय पहिचान सहितको मौलिकता झल्कने नाँच, गान सहित थारु नाटक प्रस्तुत गरिएको थियो ।
प्रतियोगिताका रुपमा सहभागि गराइएकालाई प्रस्तुतीका आधारमा उत्कृष्ट समूहलाई नगद सहित पुरस्कार समेत बितरण गरिएको थारु अगुवा हेमनारायण चौधरीले बताए ।
जितिया पर्व थारु र मैथिल समूदायले ठूलो चाडका रुपमा मनाउने गर्छन् । जितिया पर्व थारु समूदायमा पुत्र सुखशान्ति र चिरायुको लागि प्रशिद्ध छ ।
यस पर्वमा महिलाले उपवास बसी सन्तान सुख र परिवारको दीर्घायुको मनोकामना सहित धार्मिक विधान अनुरुपको पूजाआजा गर्ने गर्दछन् ।