बिर्तामोड । नेपाली चलचित्र जगतमा एकदर्जन चलचित्रमा नायिकाको भूमिका निर्वाह गरेकी सोबिता सिम्खडाले ‘वराङ्गना’ नामक उपन्यास ल्याएकी छिन् । उनले ३ बर्षको अथक् प्रयासपछि ‘वराङ्गना’ उपन्यास पाठकमाझ ल्याउन सफल भएकी हुन् । नेपाली समाजको गाउँघरमा धनि र गरिव तथा तल्लोजात र माथिल्लो जातका नाममा हुने विभेदलाई देखेरै उनमा उपन्यास लेख्ने प्रेरणा

जागेको बताउछिन् । ‘म विभिन्न साहित्यिक कृतिहरु किनेर पढ्न थाले, विस्तारै ती कृतिहरुप्रति कौतुहलता जाग्न थाल्यो, म ती पात्रहरुमा डुव्न थाले’ उनले भनिन् ‘यस्ता कयौं पात्र र घटनाहरु त मेरा आँखामा छन् ।’ विस्तारै आफुले देखेका, भोगेका र महसुस गरेका कुराहरु लेख्न मन लागेर यो उपन्यास लेखेको सिम्खडाले बताइन् । सिम्खडाले एकवर्षको खोजी अनुसन्धानपछि वराङ्गना उपन्यास लेख्न थालेको आइतवार बिर्तामोडमा पत्रकार भेटघाटका क्रममा बताएकी हुन् । ‘उपन्यास लेख्दा म नै पात्रको रुपमा प्रस्तुत हुन्थ्ये’ लेखिका सिम्खडाले भनिन् ‘ म जुनकिरी विश्वकर्मा बनेर लेखिरहँदा मेरा आँसु नरोकिएर केही लेख्न सकिन ।’ उनले पात्रका रुपमा प्रस्तुत हुँदा केहीदिन पछि मात्र उपन्यास लेख्न शुरु गर्ने गरेको सुनाइन्् । वराङ्गाना को अर्थ सुन्दर महिला भएको उनले बताइन् । ‘मेरो उपन्यासका पात्रहरु सवै उज्यालोसँग सम्वन्धित छन्’ लेखिका सिम्खडाले भनिन् । उनले आफ्नो पहिलो कृति वराङ्गना पढेर सुझाव दिन सवैलाई आग्रह समेत गरेकी छिन् । उनी चलचित्र क्षेत्रकी नायिका भए पनि साहित्यप्रतिको मोह नयाँ नभएको बताउँछिन् । उनको उपन्यास वराङ्गना बुलबुल पब्लिकेशन काठमाण्डौले प्रकाशन गरेको छ । उपन्यास २ सय ३५ पृष्ठको छ भने मूल्य ३ सय तोकिएको छ । कार्यक्रममा उपस्थिति पव्लिकेशनका अच्युत घिमिरेले वराङ्गना पब्लिेकेशनको २७ औं कृति भएको बताए । उनको पहिलो उपन्यास भएपनि निकै राम्रो भएकोले पब्लिकेशनले प्रकाशनमा ल्याएको घिमिरेले बताए । उनले दर्शकहरुले पनि वराङ्गना उपन्यास निकै मन पराएको बताए । वराङ्गनाको पहिलो संस्करण ३ हजार प्रकाशन भएको र पाठकको मागलाई मध्यनजर गर्दै दोस्रो संस्करण प्रकाशन गर्ने तयारीमा रहेको घिमिरे बताउँछन् ।

सिम्खडाले सन्देश, गंगाजल, कसम, मार्यो नि मायाले मार्यो, आफ्नै मनलाई सोधी हेरलगायतका एक दर्जन नेपाली चलचित्रमा नायिकाको रुपमा अभिनय गरेकी छिन् । दुईदर्जन नेपाली नेपाली म्युजिक भिडियोमा अभिनय, उद्घोष, नृत्य तथा फेशन शो गरी दर्जनौ स्टेज कार्यक्रम, टेलिभिजन कार्यक्रम निर्माण र सञ्चालन समेत गरेकी छिन् । कार्यक्रममा सिम्खडाका श्रीमान तथा एपीवान टेलिभिजनका समाचारवाचक निराजन भण्डारीको पनि उपस्थिति रहेको थियो ।