धनकुटा । हरेक दिनजसो सडकमा यात्रुवाहक वस होस या अन्य जुनसुकै सवारी साधनको कागजपत्र र चालकको लासेन्स चेक गर्ने ट्राफिक प्रहरीले आईतवार भने सवारी सधान रोकेर चालकहरुको आँखा जाँच गरेको छ । डा.राम प्रसाद आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले सडक मै निःशुल्कआँखा शिविर संचालन गरेर धनकुटा हिले सडकको सल्लेरीमा यात्रुवाहक बस लगायत अन्य सवारी साधनका १ सय १२ जना चालकहरुको आँखा जाँच गरिएको जिल्ला ट्राफिक प्रमुख सुरेन्द्र खड्काले वताए । सडक मै निःशुल्क आँखा जाँच शिविरको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र वहादुर गुरुङ्ग र आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले आँखा जाँच गराएर समुद्धघाटन गरेका थिए । धनकुटा नगरपालिका वडा नं.६ को वडा कार्यालयको आर्थिक सहयोग तथा नेत्र ज्योती संघ धनकुटाको व्यावस्थापनमा आयोजना गरिएको निःशुल्क सडक मै चालकहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँच गर्ने क्रममा अधिकांश चालकहरुको आँखामा इन्फेक्सन भेटिएको आँखा जाँचमा संलग्न एक चिकित्सकले ब्लाष्टलाई वताए । उनले धेरै चालकहरुले तत्काल आँखाको अवस्था अनुसारको चस्मा लगाउनु पर्ने कतिपयले चस्मा लगाएको भए पनि लामो समयदेखी पुनःआँखा जाँच गरेर चस्मा प्रयोग नगरेको पाइएको वताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले चालकहरुको सुविधालाई ध्यानमा राखेर सडक मै निःशुल्क आँखा जाँच कार्यक्रम राखिएको वताए । उनले आगामी दिनमा पनि म स्थानिय वडापालिका, नगरपालिका तथा नेत्रज्योति संघ धनकुटाको सहयोगमा पुनः सडक मै निःशुल्क आँखा जाँच गरिने शिविर संचालन गरिने वताए । नेत्र ज्योति संघ धनकुटाका अध्यक्ष द्रोर्ण प्रसाद गुरागाँईले पनि ट्राफिक प्रहरीको अभियानलाई सक्दो सहयोग गर्ने वताए । शिविरमा सहभागी सवारी साधनका चालकहरुलाई सो अवसरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।