विराटनगर/ टाउँकोमा न्याहपुशिख, घाँटीमा ताइमाल, कानको माकसिक, टाउँकोमा लुस्वाँ अनि चौवन्दी र हाकुपटासीमा सजिएर जब पर्यटकी सहर भेडेटारमा नेवारी सुन्दिर निस्किए सबैको ध्यान उनीहरुतर्फ तानियो ।

आफनो जातिय पहिरन सजिएर दोस्रो संस्करणको मिस नेवा कोशीको फाइनलमा पुगेका १३ जना प्रतियोगिहरु जब फोटो सुट गर्न बिच बजारलाई फन्को लगाउँदै उत्तरतर्फ रमणिय ठाउँमासम्म पुग्दा सबैको ध्यान उनीहरुको पहिरनमा पुगेको अवास हुन्थ्यो ।

आउँदो कार्तिक १७ गते विराटनगरमा हुने मिस नेवा कोशीको फाइनलमा पुगेका १३ जना प्रतियोगितहरुको फोटो सुट भने विराटनगरका चर्चित फोटो ग्राफर सञ्जय श्रेष्ठले गरेका थिए ।

जातिय पहिरनमा सजिएर नेवारी किशोरीहरुले फोटो सुट गर्न श्रेष्ठले करिब चार घण्टा लगाएर गरे । फोटो सुटबाट उत्कृष्ट हुने एक जना प्रतियोगिले फाइनलमा ‘फोटो जेनिक एवार्ड’ प्राप्त गर्ने आयोजक संस्थाका निर्देशक जतिन ताम्राकारले जानकरी दिए ।

नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज क्रियएसनको आयोजनामा विराटनगरमा मिस नेवा कोशी प्रतियोगिता भएको हो ।

‘दुई वर्षदेखी यस्तो प्रतियोगिता आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘नेवारी किशोरीहरुको क्षमता अभिवृद्धी र उनीहरुमा भएको प्रतिभालाई उजागर गर्न यस्तो प्रतियोगिता गरिएको हो ।’

विराटनगरकी मनिषा शाक्य, आस्मा तुलाधार, तमना श्रेष्ठ, रुजा शाक्य, सृजना श्रेष्ठ, सुधा श्रेष्ठ, नियती प्रधान, आर्जु श्रेष्ठ, स्नेहा श्रेष्ठ, स्वेक्षा तम्राकार, भोजपुरकी रुहीना प्रधान, बेलबारीकी चेलीना श्रेष्ठ र एलिना श्रेष्ठले फाइलनमा प्रतिस्पर्धा गर्दैछन् ।

फाइनलमा पुगेका प्रतियोगि अहिले बन्द प्रशिक्षणमा छन् ।

उनीहरुलाई नायक जतिन ताम्राकार र सन्जु शाक्यले प्रशिक्षण दिदै आएका छन् । प्रतियोगिताको बिजेताले आकर्षण क्राउनको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।