बिर्तामोड । कनकाइ खेलकुद प्रतिष्ठानको आयोजनामा झापाको सुरुङगामा अन्तर स्थानीय तह नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । असोज १९ गतेदेखि आयोजना हुने फुटबल प्रतियोगितामा झापाका ९ वटा स्थानीय तहका खेलाडीको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरेर बताएको छ । यो पटकको प्रतियोगितामा झापाका ५ वटा नगरपालिका र ४ वटा गाँउपालिकाका खेलाडीको सहभागिता रहने आयोजक समितिका संयोजक दुर्गा प्रसाईले जानकारी दिए । झापाको बिर्तामोड, कनकाई, अर्जुनधारा, शिवसतासी, दमक नगरपालिका र हल्दिवारी, झापा, बाह्दशी र कमल गाउँपालिकाका खेलाडीको सहभागितामा अन्तर स्थानीय तह फु्टबल प्रतियोगिता आयोजना हुने प्रसाइले बताए । प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १ सय ११, उपबिजेताले ५५ हजार ५ सय ५५ रुपैंयाँ नगद, प्रमाणपत्र, मेडल र शिल्ड पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार कनकाइ नगरपालिका र दोस्रो पुरस्कार गतबर्षको बिजेता अर्जुनधारा नगरपालिकाले उपलब्ध गराउने सहमति भएको आयोजकले जनाएको छ । गतबर्ष नगर कप आयोजना गरेको कनकाइ खेलकुद प्रतिष्ठानले यसबर्षदेखि गाउँपालिकालाई समेत समेटेर प्रतियोगिता आयोजना गरेको छ । त्यसैक्रममा चारवटा गाउँपालिकाले प्रतियोगितामा सहभागि हुनका लागि तयारी थालेको बताइएको छ । बिगतका बर्षहरुमा सहभागिता जनाएको तीनवटा नगर भने यसबर्ष अनसपीसथत रहने आयोजन समितिका खेल संयोजक राजेन्द्र उप्रेतीले जानकारी दिए । प्रतियोगिताको फाइनल असोज २८ गते हुने आयोजकले जनाएको छ ।