ताप्लेजुङ । फुङलिङ नगरपालीका वडा नं ८ मा रहेको पुरानो पानी ट्याङ्कीमा फसेको लोपउन्मुख बन्यजन्तु कालो सालकलाई डिविजन वन कार्यालय ताप्लेजुङले उद्धार गरि सोमवार स्थानिय धुसेनी जंगलमा छाडेको छ । सोमवार विहान फुङलिङ नगरपालिका वडा नं ८ का कृष्ण वरालको वारीमा रहेको पुरानो पानी ट्याङ्कीमा फसेको अवस्थामा फेला परेको एक जोडी सालकलाई डिविजन वन कार्यालय तथा प्रहरीको टोलीले उद्धार गरि प्राकृतिक वासस्थानमा छाडेको हो । ३२ सेन्टी मिटर लम्वाई तथा ५ केजी तौल भएको भाले र २८ सेन्टी मिटर लम्वाई तथा ४ केजी तौल भएको पोथी सालक स्थानियले फेला पारेका थिए । सालक प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ । विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तु विज्ञ बताउँछन् । सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ । तर यसले कमी लालगायत साना कीराहरू पनि खान्छ ।