रङ्गेली । बरिष्ठ राजनीतिज्ञ तथा सामाजिक ब्याक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फवाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उनलाई नागरिकको तर्फवाट अभिनन्दन गर्न लागिएको हो । केही दिन अघि भएको नागरिक भेलाले एलिट क्लब विराटनगरका अध्यक्ष डा. भेष प्रसाद धमलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिमा उद्योग संगठन, मोरङ्ग ब्यापार संघ, पत्रकार महासंघ, जिल्ला सहकारी संघ, मनमोहन प्रतिष्ठान, जेष्ठ नागरिकसंग सम्वन्धित संघ÷संगठनहरु, प्याब्सन लगायत बिभिन्न संघ÷संगठन, सभासद, सामाजिक ब्याक्तित्वहरु सदस्य रहेका छन् । त्यसैगरी डा. धमलाकै सयोजकत्वमा ३१ सदस्यीय कार्य सम्पादन समिति समेत गठन गरिएको छ । कार्य सम्पादन समितिको आइतबार सम्पन्न बैठकले बिभिन्न आठवटा उपसमितिहरु गठन गरेको छ । सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने र उनको समय लिएर मिति तय गर्ने कुरा मूल समारोह समितिका संयोजक डा. भेष प्रसाद धमलाले बताए । उनका अनुसार १ नं. प्रदेशका मूख्य मन्त्री शेरधन राई संयोजक र सामाजिक विकास मन्त्री जिवन घिमिरे सहसंयोजक रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका बरिष्ठ राजनितिज्ञ भरत मोहन अधिकारीले सामाजिक तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो । जेष्ठ नागरिकको सन्दर्भमा उंनको बिशेष योगदान रहेको छ । उनी अर्थमन्त्री भएकै समय देखि बृद्ध भत्ता लगायतका सामाजिक भत्ताहरुको वितरण शुरु भएको थियो । अधिकारी १ नं. प्रदेश अन्तर्गत विराटनगरका स्थायी बासिन्दा हुन ।