भद्रपुर । प्रहरीले २ सय ६४ एम्पुल लागूऔषध र मोटरसाइकल सहित दुइ युवालाइ पक्राउ गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट साधा पोसाकमा खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शनिबार साँझ भद्रपुर–५ गणेश मन्दीर पूर्व नयाँ टोल स्थित मेची किनारबाट भद्रपुर–७ का ३२ वर्षिय सुबर्ण श्रेष्ठलाइ पक्राउ गरिएको जिल्लाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जनाए । शङ्का लागी चेकजाँच गर्दा श्रेष्ठको साथबाट डाइजेपाम इन्जेक्सन ८८ एम्पुल,फेनारगन ८८ एम्पुल र लुपिजेसिक ८८ एम्पुल गरी २ सय ६४ एम्पुल बरामद गरिएको डिएसपी बस्नेतले जानकारी दिए । पक्राउ परेका श्रेष्ठले हल्दीबारी गाउँपालिका–१ का ३४ वर्षिय नारायण गुरुङ्लाइ दिन भनी मौखिक बयान दिएको आधारमा गुरुङ्लाइ समेत पक्राउ गरिएको उनले जनाए । गुरुङ्को सवार मे.६ प २३७२ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामान सहित पक्राउ परेकालाइ वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर साँझ जिल्ला प्रहरी कार्यालय झापा पठाइएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जबेगूले जनाए ।