विराटनगर/ ७ औं संस्करणसम्म आइपुग्दा पहिलो पटक मोफसल बाहिर विराटनगरमा म्युजिक खबर म्युजिक अवार्ड वितरण गरिएको छ ।
काठमाडौं केन्द्रित हुँदै आएको म्युजिक खबर म्युजिक अवार्ड शुक्रबार प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा सम्पन्न भएको हो ।
अवार्डमा समारोहमा गायक शिव परियार सर्वोत्कृष्ट सुगम सङ्गीत गायकको अवार्ड जित्न सफल भए ।
उनले ‘वर्षाैं भो छोडेको’ गीतबाट अवार्ड हात पारे ।
त्यस्तै सर्वोत्कृष्ट गायिका सुगम सङ्गीततर्फ गायिका प्राश्ना शाक्यले सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारिन् । उनले ‘कैदी बनाउ’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् ।
म्युजिक खबरको आयोजना र ‘हामी युवा’ को सह–आयोजनामा भएको उक्त समारोहमा विभिन्न ३२ विधामा अवार्ड वितरण गरिएको थियो ।
सर्वोत्कृष्ट पप गायिका अवार्ड मन्जु पौडेल, सर्वोत्कृष्ट पप गायक शङ्कर थापा घोषित भए ।
सर्वोत्कृष्ट गायक लोकदोहोरीमा दीपसागर थापा, सर्वोत्कृष्ट गायिका लोकदोहोरीमा सुनिता दुलाल, सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिकामा अन्जु पन्त, सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायकमा राजेशपायल राई घोषित भए ।
बेस्ट सिङ्गर अफ दी इयर विराटनगरका सुमित खड्का घोषित भए ।
कार्यक्रममा वरिष्ठ गायक तथा सङ्गीकार शम्भुजित बासकोटालाई ‘विराट सङ्गीतरत्न’ द्वारा अभिनन्दन गरिएको थियो ।
त्यस्तै, पत्रकार गीता अधिकारीलाई ‘सङ्गीत पत्रकारिता सम्मान’ प्रदान गरियो ।
माण्डवी त्रिपाठीलाई म्युजिक खबर दशकको स्रष्टा सम्मान, प्रेम सापकोटा सोनुलाई म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान, मल्लिका कार्कीलाई म्युजिक खबर युवा प्रतिभा सङ्गीत सम्मान, याङ्शु श्रेष्ठलाई म्युजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान र म्युजिक खबर प्रदेश नं १ विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा गायक तथा शम्भुजित बासकोटा, प्रमोद खरेल, शिव परियार, राजेशपायल राई, शङ्कर थापा, डेभिट शङ्कर, कमल श्रेष्ठ, गायिका माण्डवी त्रिपाठी, सुुशीला पाठकको उपस्थिति तथा प्रस्तुति रहेको थियो ।