वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको वडा नम्बर–१ स्थित प्रसिद्ध वराहक्षेत्र मन्दिर क्षेत्रमा ६ महिनादेखि बिग्रिएको नेपाल टेलिकमको मोबाइल सेवा अझै शुरु भएको छैन ।

गएको जेठ महिना अगाडिदेखि नै ठाउँठाउँमा तार चुँडिएर मोबाइल सेवा ठप्प भएपछि स्थानीयको गुनसो बढेको छ ।

चतराघाट वराहक्षेत्र सडक निर्माणको क्रममा हिल कटिङ गर्दा, ठेकेदार कम्पनी दुहबीको गीताञ्जली कन्सट्रक्सनले सडक खण्डको धनसार खोला, ब्रह्मानन्द खोलालगायत विभिन्न स्थानमा रहेको मोबाइल कन्ट्रोल रुममा जोडिने तार चुँडाएको स्थानीय कुमार श्रेष्ठले बताए ।

‘चतरा, धरान र इटहरी शहरसँग व्यक्तिगतदेखि व्यापारिक सबै काम फोनको भरमै हुन्थ्यो अहिले सानो कुराका लागि पनि शहर नै धाउनुपर्ने स्थिति छ,’ श्रेष्ठले भने, ‘हाम्रो समय, श्रम र रकम खेर गइरहेको छ ।’

पटक–पटक धरान टेलिकम अफिस गएर मोबाइल मर्मतका लागि अनुरोध गरे पनि टेलिकमले तार जडान गर्न २५–३० हजार रुपैयाँ लाग्छ भन्दै पन्छिने गरेको उनले बताए ।

मन्दिर क्षेत्रमा रहेका करिब ७० घरधुरीमा २ सय ८० उपभोक्ताले एनटीसीको मोबाइल सेवा प्रयोग गरिरहेका छन् ।

बिग्रिएको मोबाइल सेवा आधा वर्ष बढी हुँदा पनि शुरु नहुनुको कारण टेलिकमको हेपाहा प्रवृत्ति भएको स्थानीय हरि श्रेष्ठले आरोप लगाए ।