ताप्लेजुङ/ जिल्ला अस्पताल ताप्लेजुङको भौतिक संरचनालाई व्यापक मर्मत सम्भार गरिने भएको छ । अस्पतालका भौतिक संरचनाले कामै नगर्ने भैरहेको समयमा अस्पताललाई भौतिक रूपमा पुनःनिर्माण गरिने भएको हो ।

पुनर्निर्माणका लागि नेपाल मेडिकल सपोर्ट जर्मनीको सहयोगमा ताप्लेजुङ विकास मञ्चले अस्पतालको भौतिक संरचना सुधारको काम गर्ने भएको छ । यसका लागि १ करोड २ लाख रुपैयाँको सम्झौता भइसकेको बताइएको छ ।

पहिलो चरणमा जस्तापाता फेरिने ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईंले जानकारी दिए । यसको काम यसै साताको अन्त्यदेखि शुरु हुने उनले बताए ।

अस्पतालको अधिकांश भागमा अहिले पानी चुहिन्छ । पानी पर्नासाथ बिरामीहरूको बिचल्ली हुने गरेको छ । पहिलो चरणमा पानी नचुहिने व्यवस्था गर्न अस्पतालका छानामा रहेका जस्तापाता फेरिने भएको हो ।

त्यसका लागि प्राविधिक इस्टिमेट पनि तयार पारिसकिएको मञ्चको भनाइ छ । पहिलो चरणमा जस्तापाता लगाउने काम सकिएपछि भुइँमा टायल लगाउने, भएको टायललाई घोटेर सफा बनाउने, झ्यालमा लगाइएका सबैखाले सिसा तथा ग्रिल फेर्ने र अस्पतालको पूरै भागलाई रङ्गरोगन गर्ने योजना रहेको छ ।

अस्पतालका शौचालय भने अतिजीर्ण भएकाले यसलाई नयाँ तरिकाले निर्माण गर्ने तयारी गरिएको मञ्चले जनाएको छ । यसै चरणमा खानेपानीका लागि फिल्टर राखिने छ ।

अहिले प्रयोग भइरहेको पानी शौचालय, कपडा धुन र सरसफाइमा मात्रै प्रयोग गरिने छ । खानेपानीका लागि छुट्टै व्यवस्था हुनेछ ।

खानेपानीको मुहान र घरको सेफ्टी ट्याङ्की सँगै भएकाले अहिलेको पानी प्रयोगका लागि उपयुक्त नभएको निष्कर्षसहित यस्तो व्यवस्था गर्न लागिएको उनले बताए ।

अस्पतालमा थ्री फेज लाइनको बिजुली पुर्याउने र भएकोलाई पूरै परिवर्तन गर्ने पनि योजनामा उल्लेख छ । यसका लागि मात्रै संस्थाले ६ लाख रुपैयाँ छुटयाएको छ ।

पहिलो चरणमा यी काम सम्पन्न भएपछि सीसीक्यामरा जडान गर्ने, उपचारमा प्रयोग हुने उपकरण खरिद गर्ने सम्झौतामा उल्लेख छ ।

दातृसंस्थाले पहिलो चरणको कामको मूल्याङ्कन गरेर दोस्रो सम्झौता गर्ने बताइएको छ ।  दोस्रो चरणमा ८० हजार युरो अर्थात् करिब १ करोड रुपैयाँ दिने मौखिक सहमति भएको छ ।

दातृसंस्थाका प्रतिनिधि स्वयम्ले आएर अस्पतालको अवलोकन गरेका थिए । स्थानीयको विशेष आग्रहमा उनीहरू सहयोगका लागि तयार भएको अवलोकनमासँगै रहेका लिटिल बुद्ध माविका प्रधानाध्यापक युवराज गिरीले बताए ।

१५ शैयाको जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न प्रदेश सरकारले पनि १ करोड ३० लाख रुपैयाँ दिने भएको छ ।

एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालको भ्रमणपछि बजेट घोषणा गरेका हुन् । ताप्लेजुङ विकास मञ्चले गर्ने कामहरूको अस्पताल विकास समितिले अनुगमन गर्नेछ ।

अहिले जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा अस्पताल विकास समिति बनाइएको छ ।