[caption id="attachment_96523" align="alignnone" width="1548"] farmer[/caption]

पथरी/ कानेपोखरी–६ रमाइलोमा स्थापित साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार जनसेवा माविको प्राङ्गणमा भएको साधारण सभाले संस्थालाई योगदान पुर्याउने १४ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ।

सम्मानित र पुरस्कृत हुनेहरूमा रमाइलो साकोस वित्तीय सहयोग, दानबहादुर बस्नेत, गणेशप्रसाद गुरागाईं अनुशरण सहजकर्ता, इच्छा कोइराला पूर्व पदाधिकारी सम्मान, उत्कृष्ट ऋणीमा मेनुका अधिकारी, भीमा लुइँटेल, बुगे सोरेन, त्यसैगरी उत्कृष्ट समूह समूह नं. १६०, व्यवसायिक च्याउ खेतीमा छत्रमाया श्रेष्ठ, व्यवसायिक मौरीपालनमा अमृत राई, व्यवसायिक गाई पालनमा पार्वती कार्की, व्यवसायी बङ्गुर पालक तारा घिसिङ र उत्कृष्ट शेयर लगानीमा रामकुमारी प्रधान छन् ।

संस्थाले ४ लाख ४१ हजार ७१ रुपैया शुद्ध बचत गरेको छ ।

गत आर्थिक वर्षमा संस्थाले २ लाख १९ हजार ४ सय ८ रुपैयाँ शुद्ध बचत गरेको संस्थाकी प्रबन्धक विमला विष्टले साधारण सभामा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाको सेयर रकम २६ लाख २७ हजार ३ सय छ । निक्षेप ७२ लाख ४१ हजार २ सय ५२ रुपैयाँ छ ।

संस्थाले सेयर सदस्यको १ लाख ४५ हजारको लागतमा १सय १० वटा पशुको बिमा गरेको छ ।

आगामी आर्थिक वर्षमा पशु सङ्ख्या २ सय २५ पुर्याउने लक्ष्य रहेको छ । संस्थाले २ करोड २१ लाख ६६ हजार ऋण लगानी गरेको छ ।

संस्थाले केदार पौडेल, धनमाया रिमाल, सविता राई, गङ्गा गेलाललाई २० हजार बराबरको बीउ बोका वितरण गरेको छ ।

त्यसैगरी १७५ वटा समूहलाई तरकारी बीउ वितरण गरेको छ ।

सामुहिक जमानतमा ५० हजार र मासु र दूधजन्यमा ८० हजारसम्म, व्यवसायिक ऋण धितो जमानीमा ३ लाखसम्म ऋण दिने आगामी कार्ययोजना रहेको संस्थाकी अध्यक्ष राजमती इङ्नामले बताइन् ।

०७२ सालमा स्थापना भएको संस्थामा १८१ वटा समूह र १ हजार १ सय ३२ जना सदस्य छन् । प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए ।