इटहरी/ सोसाइटी तरहराको आयोजनामा शनिबार तरहरामा ज्येष्ठ नागरिकहरूका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

उक्त स्वास्थ्य शिविरमा तरहरा आसपासका दुई सय २३ जना ज्येष्ठ नागरिकहरूले निशुल्क स्वास्थ्य जाँच गराएका थिए ।

सबैभन्दा बढी उमेरका भएका ९५ वर्षीय साइनध्वज अधिकारी, गायत्रीमाया गिरी, गणेशबहादुर खड्का, वीरबहादुर पाण्डे, लगायत अन्य ८० वर्षभन्दा माथिका दुई दर्जन बढी ज्येष्ठ नागरिक तथा अन्य त्यो भन्दा कम उमेरका ज्येष्ठ नागरिकहरू लगायत अन्य मानिसहरूले स्वास्थ्य जाँच गराएका थिए ।

उक्त स्वास्थ्य जाँचमा सुगर, ब्लड प्रेसर, आँखा कान, नाक र घाँटी रोगको निशुल्क स्वास्थ्य जाँच गराएका थिए ।

उक्त क्लबले २४ हप्ता अगाडिबाट सरसफाइ अभियान चलाए थियो ।

कार्यक्रममा प्रमुख अतिथि इटहरी २० का कार्यवाहक अध्यक्ष रामबहादुर गिरीले तरहरामा युवाहरूको एकल प्रयासमा लामो समय अगाडिबाट सामाजिक काम हुनु र स्वास्थ्य शिविरको आयोजना हुनु सह्रानीय काम रहेको भन्दै प्रशंसा गरे ।

पछिल्लो समय युवाहरू कुलतमा फस्दै गएको उदाहरण दिँदै उनले यो क्लबको कामप्रति आफूहरू सकारात्मक रहेको उनको तर्क थियो ।

कार्यक्रममा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष मणिराम गिरीले मानिस जन्मदैँ फटाहा र असल भएर नजन्मने समाजमा सिक्दै जाने बताए ।

आगामी दिनमा पनि समाजसेवामा अब्बल बन्दै जानका लागि उनको सल्लाह थियो ।

निशुल्क स्वास्थ्य जाँच गराइसकेपछि ज्येष्ठ नागरिकहरूले आफूहरू युवाहरूको कामप्रति सकारात्मक रहेको बताए ।