धनकुटा/ धनकुटा नगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासन अवलम्वन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा धनकुटा नगरपालिकाका उप–प्रमुख शकुन्तला बस्नेतले ०७६ चैत्र मसान्तसम्ममा धनकुटा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने बताएकी छन् ।
धनकुटा नगरपालिका वडा नं.६ मा तीन दिने बालमैत्री स्थानीय शासन अवलम्वन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उप–प्रमुख बस्नेतले यस्तो बताएकी हुन् ।
सो अवसरमा बोल्दै बस्नेतले जबसम्म बालबालिकाको सानै उमेरदेखि चौतर्फी विकास गरेर लान सकिँदैन तबसम्म देशकै चौतर्फी विकास नहुने भएकाले बालमैत्री स्थानीय शासनको अवधारणा धनकुटाले अघि सारेको बताइन् ।
उनले नगरको विकास जनप्रतिनिधिले खोजे अनुसार र नगरवासीले चाहेअनुसार गर्न नसकिएको बताइन् ।
अहिलेको सरकारले बजेट जति सङ्घीय सरकार र प्रदेश सरकारमा राखेर गाउँ–नगरको विकास स्थानीय सरकारले गर्नु पर्छ भन्नु नहुने कुरा भएको बताइन् ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट घटेर आएको बताउँदै उप–प्रमुख बस्नेतले १९ करोड बजेटले धनकुटा नगरपालिकाको १० वटा वडामा के गर्नु के नगर्नु, विकास गरेर नगरलाई समृद्ध बनाउन चुनौती रहेको औँल्याइन् ।
त्यसैगरी कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै धनकुटा नगरपालिकाका प्रबन्धक नुषराज श्रेष्ठले धनकुटा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न नगरस्तरीय सरोकारवालासँग वृहत छलफल गरेर प्रक्रियागत अघि बढिरहेको बताए ।
उनले पहिलो फेजमा नगर क्षेत्रको ५ वटा वडालाई बालमैत्री नगर घोषणा गर्ने तयारीमा धनकुटा नगरपालिका लागिपरेको स्पष्ट पारे ।
हालसम्म धनकुटा नगरपालिकाका वडा नं. १ र २ मा बालमैत्री शासनको ३९ वटा सूचक अनुसार काम भइ रहेको श्रेष्ठले बताए ।
उनले वडा नं.१ मा ३९ मध्ये २२ वटा सुचक पूरा भइसकेको र बाँकी सूचक पूरा गर्न आवश्यक कार्ययोजना अघि बढिरहेको बताए ।
वडा नं.२ मा पनि बालमैत्री स्थानीय शासन अनुरुप बालबालिकाको क्षेत्रमा काम गर्नको लागि सुचकअनुसारका कार्ययोजना अघि बढिरहेको बताए ।
गोष्ठी स्थानीय राजनीतिक दलका प्रतिनिधि, टोलबस्ती सङ्गठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सरोकारवाला सङ्घ–संस्थाका प्रतिनिधि, वडा तहका बाल क्लबका प्रतिनिधि, अभिभावक सङ्घका प्रतिनिधिको सहभागितामा भएको थियो ।
कार्यक्रम वडा नं.६ का कार्यवाहक वडाध्यक्ष मिलन नेवाः खड्गीको अध्यक्षतामा सम्पन्न भएको थियो ।