धनकुटा/शरीरमा लागेका सबै खाल्का रोग निदान हुने भन्दै धनकुटा–७ तुलसीटोलमा ‘सत्य वचन’ नामक धार्मिक कार्यक्रम सञ्चालन गरेर मानिसहरूलाई आर्कषण गरिरहेको पाइएको छ ।
स्थानीय टेकबहादुर भण्डारीले हरेक शनिबार उपचार हुने भन्दै ‘सत्य वचन’ सुनाउने गरेका छन् ।
धनकुटा जिल्ला अस्पतालका निमित्त मेडिकल अधिकृत डा.अमिताभ ठाकुरले कुनै पनि रोगको उपचार भनेको मेडिकल साइन्सले भनेको भन्दा फरक पृथक हुनै नसक्ने बताए ।
उनले जुनसुकै उपचार पनि मेडिकलबाटै हुने बताए ।
‘ध्यान जप गर्दैमा कुनै पनि रोगको सामाधान हुँदैन ।’ उनले भने, ‘सर्वसाधरणलाई स्वास्थ्य उपचारको नाममा धर्मको प्रचार मात्रै हो ।’
सत्य वचन सुन्नेहरूको मधुमेह, उच्च रक्तचाप, आँखा नदेख्ने, प्यारालाइस, थाइराइड, क्यान्सर, हात गोडा दुख्ने, टाउको दुख्ने, नशाको रोग, घाँटीको समस्या, पाठेघरको समस्या जस्ता रोग निको हुने दाबी सत्य वचन सञ्चालन गरिरहेका भण्डारीले बताए ।
सत्य वचनमा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिका र जिल्ला बाहिरबाट पनि हजारौंको संख्यामा भक्तजन आउने गरेका छन् ।
सत्य वचनमा नियमित सहभागी भएकी धनकुटा–७ की कृष्णकुमारी मगरले आफ्नो वर्षौदेखिको घाँटी र पाठेघरको समस्या निको भएको दावी गरिन् ।
उनले आफ्नो घाँटी र पाठेघरको रोगको उपचार गर्न धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको अधिकांश अस्पताल चाहार्दा पनि निको नभएको तर ‘सत्य वचन’ मा आएपछि पिता परमेश्वरको वचनले ठिक भएको दावी गरिन् ।
सर्लाही लालगढ घर भएका थीरबहादुर श्रेष्ठले पनि एक वर्षदेखिको प्यारालाइस चार साता सत्य वचन सुन्दा नै ठिक भएको बताए ।
यस्तै दावी गर्नेमा धनकुटा–७ सब्जी बजारका श्याम आठपहरिया पनि एक हुन् ।
उनले पनि लामो समयदेखि टाउँको दुख्ने समस्या ठिक भएको बताए । यता सुगर रोगबाट पीडित धनकुटा–७ का विष्णु श्रेष्ठले सुगर निको हुन्छ भनेर गए पनि निको नभएको बताए ।
यसरी निको हुने विश्वासमा उक्त ठाउँमा पुग्ने गरेका छन् ।
हरेक शरिबार भण्डारीको घरमा १० देखि ११ बजेसम्म नेपाली मौलिक लोक भाकाहरुमा भजन बज्ने गरेको छ । ११
देखि १२ बजेसम्म सबैखाले रोग निको भएको भन्दै गभाइ सुनाउने, १२ बजे देखी १ बजेसम्म अगुवाहरूबाट पिता परमेश्वरको वचन सुनाउने र १ बजेदेखि २ बजेसम्म मुठी दान संकलन गरेर नयाँ सहभागीहरूलाई आँखा बन्द गरेर पिता परमेश्वर प्रभु यशुख्रिष्टको नाममा प्रार्थना/भक्ति भाव गर्ने तरिका सिकाएर कार्यक्रम समापन हुने गरेको भण्डारीले बताए ।
उनले यो धर्म हिन्दू नै भएको, आस्था भने पिता परमेश्वरमा, मन्दिर जाँदा हुने, रातो टीका लगाउँदा हुने दशैं तिहार मान्दा हुने तर गुम्बाकाे लामा र झाँक्रीले फुकेको जन्तर लगाउन भने नहुने बताए ।
कार्यक्रममा सहभागीबाट मुठी दान, यातयात खर्च र भवन निर्माणको लागि स्वेच्छाले रकम समेत सङ्कलन हुने गरेको बताए ।
सत्य वचनका सहभागीहरुको कुरा सुन्दा मान्छेको शरीरमा लागेको सबैखाले रोग निको भएको भन्दा आफूलाई पत्यारै नलागेको प्रदेश सांसद लिला सुब्बाले बताइन् ।
उनले प्रभुको नाममा भजन गाउँदैमा र प्रार्थना गर्दैमा क्यान्सर, सुगर, प्रेसर, प्यारालाइसिस, बोली आउने, ढाड दुखेको जस्ता सबै खाले रोग निको हुने भए दुनियाँभरको अस्पताल किन बनाउनु पर्यो भन्दै प्रतिप्रश्न गरिन् ।
स्थानीय सरकार धनकुटा नगरपालिकालाई यसबारे जानकारी नभएको नगरपालिका कार्यालयले जनाएको छ । वडा कार्यालयमा पनि सो कार्यक्रमबारे जानकारी नभएको वडा कार्यालयमा कार्यरत एक कर्मचारीले बताए ।
भाद्र १ गतेदेखि लागु भएको मुलुकी अपराध संहिता ऐन ०७४ को अनुसुचि–९ को धर्मसम्बन्धी कसुरको महलमा प्रलोभन देखाएर धर्म परिवर्तन गर्न नपाउँने कानुनी व्यावस्था रहेको प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले बताए ।
प्रजिअ कार्कीले धर्म सम्बन्धी महलको दफा १५८ को उपदफा २ मा कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनन देखी चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन भनिएको बताए ।
उनले कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले कार्यक्रम गरिएको पाइए कानुन् बमोजिम कारवाही हुने बताए ।
धनकुटा जिल्ला अस्पतालका नि.मेडिकल सुपरीटेन्डेन्ट एवं मेडिकल अधिकृत डा.अमिताभ ठाकुरले यसो भने– धार्मिक विश्वासलाई नास्तिक भन्नु मिल्दैन । कुनै पनि रोगको उपचार भनेको मेडिकल साईन्सले भनेको भन्दा फरक पृथक हुनै सक्दैन । तर कोही कसैले प्रलोभन वा आशा देखाएर पैदा हुने फिलिङ्गको भित्री इच्छा शक्तिले गर्दा रोगसँग लड्न सक्ने क्षमता पैदा हुनु भनेको क्षणिक हुन्छ । यसरी विभिन्न वहना भनाएर फैदा गराईने फिलिङ्गले कुनै पनि प्रकारको रोग दिर्घकालिन रुपमा कहिले निको हुँदैन । उपचार नगराई पिता परमेश्वर प्रभु यशु भन्दै वसी रह्यो भने त्यस्ता दिर्घरोगी छिटै माथि जान्छन् । जो सुकैलाई मेडिकलको उपचार चाहिन्छ, प्रभु यशु मात्र भनेर ध्यानजप गर्दैमा कुनै पनि रोगको सामाधान हुँदैन । सर्वसाधरण नागरिकलाई स्वास्थ्य उपचारको नाममा धर्मको प्रचार गरेर यूरोपियन युनियनले प्रतक्ष–अप्रतक्ष रुपमा नोपलको राष्ट्रियतालाई तहसनहस पार्ने गरी धर्म संस्कृति माथि मात्र सिंगो मुलुकको राजनिति माथि नै सुवा जिल्लामा हस्तक्षेप गर्ने षडयन्त्रको एउटा गतिलो उदाहरणको रुपमा लिएको बताए । उनले २ वर्ष अघि आफु रसुवा जिल्ला अस्पतालमा कार्यरत हुँदा पनि यस्तै प्रश्न लिएर स्थानिय पत्रकार आएको डा.अमिताभ ठाकुरले बताए ।