यासोक/पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको ठेकेदार कम्पनीले भुक्तानी नपाउँदा आयोजनामा कार्यरत श्रमिकहरू दशैंको मुखमा रित्तो हात घर फर्कने अवस्थामा पुगेका छन् ।
बिगत २ वर्षदेखि आयोजनाको काम गर्दै आएका राजेन्द्र चौलागाई ५ महिनादेखि पैसा पाएका छैनन् । दशैंमा पैसा पाउनेमा आशावादी थिए ।
तर कम्पनीले भुक्तानी नपाएको खबरले उनलाई मर्माहत बनाएको छ । अब दशैं कसरी मनाउँने भन्ने चिन्तामा उनी छन् ।
उनीजस्तै अन्य श्रमिकहरू पनि चिन्तित छन ।
दशैं अगाडि नै आयोजनाले २ करोड भुक्तानी पाउँनुपर्ने भए पनि रकम नपाउँदा त्यसको प्रत्यक्ष मार चौलागाईजस्ता मजदुरलाई परेको छ ।
आयोजनामा कायरत झण्डै २ सय श्रमिकले भुक्तानी पाउनबाट बञ्चित बन्ने अवस्थामा पुगेका छन् ।
निर्माण कम्पनीले दशैं अगाडि २ करोडको बिल पेश गरेको थियो । तर समयमै रकम निकासा नभएको निर्माण व्यवसायी सन्तोष बस्नेतले बताए ।
‘आयोजनाको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्न दक्ष जनशक्ती र कच्च पदार्थको ठुलो परिमाण एकै साथ प्रयोग गर्यौ ।
समयमै बिल पेस गर्दा पनि रकम भुक्तानी लिन सकिएन । यस्तो अवस्थामा कामदारलाई कहाँबाट पैसा जुटाएर दिने ?’ उनले भने ।
प्रेरा–स्वामीनारायण जेभी र कन्काई खिम्तीले बितरण र मुख्यपाइप लाइनको काम एकै साथ गर्दै आएका छन् ।
२०७३ साल पुष १६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले २०७५ सालको अत्यमा योजनाको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
निर्माण कम्पनीले २०७५ सालको मंसिर र पुष महिनासम्ममा खानेपानी बस्तीसम्म पुर्याउँने लक्ष्य लिएको छ ।
लक्ष्यअनुसार नै निर्माण कम्पनीहरुले ८० प्रतिशत काम सम्पन्न गरेका छन् भने, २० प्रतिशत काम २ देखि ३ महिना भित्र पूरा गर्ने बताएको छ ।
आयोजनाको पहिलो ठेक्का लिएको प्रेरा–स्वामीनारायण जेभीले ७० प्रतिशत र दोस्रो ठेक्का लिएको कन्काइ महादेवखिम्तीले ७२ प्रतिशत भुक्तानी यसअघि नै लिएका छन ।
चाडपर्व अगाडीनै पाउँनु पर्ने २ करोड रुपैयाँ भुक्तानी नपाउँदा श्रमिकलाई पैसा दिनै समस्या भएको निर्माण कम्पनीहरूले गुनासो गदै आएका छन् ।
यता डिभिजन प्रमूख सुरतलाल चौधरीले, संघीय संरचनाहरुको टुङगो लागि नसकेकाले समस्या देखा परेको बताए ।
संघ र प्रदेशमा रहेका सरकारी कार्यालयहरु कहाँ राख्ने भन्ने बिषयको टुङगो नलागेकाले दशैं अघि निर्माण कम्पनीले भुक्तानी नपाउँने चौधरीले बताए ।