पानवारी । धरानका विभिन्न ८ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामाग्री वितरण गरिएको छ । धरान उपमहानगरपालिका अन्तर्गत रहेको खेलकुद विकास समितिले धरानका ५ वटा माध्यमिक विद्यालय र ३ वटा आधारभूत विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको हो । धरान–२० स्थित भालढुंगा मावि, धरान–८ स्थित शहिद स्मृति मावि, धरान–८ स्थित ल्याब्रेटरी मावि र धरान–१३ स्थित सत्यसाई मावि गरी चारवटा मावि प्रत्येकलाई सेपाकताक्रोको नेट १ थान र बल ४ थान, बास्केटबल २ थान, भलिबल ४ थान र नेट १ थान, ब्याटमिन्टन ¥याकेट ४ थान र कक २ बट्टा प्रदान गरिएको खेलकुद विकास समिति अध्यक्ष सुवास राईले बताए । धरान–३ मा रहेको भानुस्मृति माविलाई टेबलटेनिसको बल र ब्याट ४ थान हस्तान्तरण गरिएको थियो ।
त्यस्तै गरी धरान–२० मा रहेको मदनआश्रित आधारभूत विद्यालय र उदय आधारभूत विद्यालय तथा धरान–१३ मा रहेको अमर आधारभूत विद्यालयलाई बुद्धिचालको बोर्ड र गोटी २ सेट, टेबलटेनिस ब्याट र बल २ सेट, ब्याटमिन्टन ¥याकेट २ सेट र एक बट्टा कक, क्यारेमबोर्ड गोटी सहित १ वटा, स्किप ३ वटा, लुडो २ सेट र रिङ २ वटा वितरण गरिएको थियो । मंगलबार विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गर्दै धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले आफुहरु निर्वाचित भएदेखि नै धरानलाई खेलकुद तथा खेलाडीको सहर भनेर चिनाउन विशेष कार्यक्रम सञ्चालन गरेको बताइन् । उनका अनुसार गतवर्ष मेयरकप स्कुल ओलम्पिक सम्पन्न भएको र अहिले सोही प्रतियोगितालाई लक्षित गरेर विद्यालयलाई खेलकुद सामाग्री वितरण गरिएको बताइन् । उनले विद्यालयका शिक्षकहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गर्दै भनिन् –‘यी सामाग्री विद्यार्थीहरुले राम्ररी खेल्न पाउन्, विद्यालयको स्टोरमा यी सामाग्री नथन्किउन् ।’ धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख गणेश खतिवडाले धरान बालमैत्री नगर घोषणा हुने तयारीमा रहेकोले बालबालिकाले खेल्ने अवसर पाउन् भन्ने मनशायले खेलकुद सामाग्री वितरण गरिएको बताए ।