इलाम । नजिकिदैँ गरेको दसैँ,तिहार,छठपर्व लगायतका चाडपर्वहरुलाई लक्षित गरि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धिले उपभोक्ता मारमा पर्ने गरेका छन् । गत वर्षहरुमा जस्तै जब चाडपर्वहरु नजिकिन्छन् तब दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुने परिपाटी रोकिएको छैन । दैनिक उपभोग्य दलहन, चामल, तरकारी साथै चिनी, चिउरा, तेल लगायतको अचानक भएको मुल्य बृद्धिले उपभोक्ता मारमा परेका हुन । चाडपर्वको मुखमा सधैँँ ब्यापारीहरुले आफुखुसी दैनिक उपभोग्य वस्तुको मूल्य वढाउँदा उपभोक्ता मर्कामा पर्दछन् । असार मसान्तमा करिव १० प्रतिशत भन्दा वढि मुल्यबृद्धि सहेका उपभोक्ताले तिन महिना बित्न नपाउँदै भएको चर्को मुल्य बृद्धिले झनै मारमा परेको वताउने गरेका छन् । ग्रामीण भेगबाट दसैँका लागि किनमेल गर्न इलाम सदरमुकाम आउने उपभोक्ताहरु गत वर्षको तुलनामा यस वर्ष दैनिक उपभोग्य सामग्री,लत्ताकपडा,रंग,चुना लगायतका सामग्रीमा मूल्य वृद्धि भएको बताउँछन् । इलाममा उद्योग वाणिज्य संघले निर्धारण गरेको मूल्य समेत कतिपय पसलहरुमा देखिदैँन भने कतिपय पसलहरुमा निर्धारण गरेकै मूल्य लिने गरेको व्यापारीहरु बताउँछन् । दैनिक उपभोग्य सामग्रीहरुमा चिनी,तेल,दलहन,चामलको मूल्य किलोमा नै पाँच देखी १५ रुपैँयासम्म बढेको देखिन्छ । यस्तै लत्ताकपडाहरुको समेत कर वृद्धि भएकाले कपडाको मूल्य केही वढी भएको व्यापारीहरु बताउँछन् । कपडा व्यापारी कुमार गुरागाइँले यस वर्ष व्यापारमा मन्दी आएको बताए । उनले विगतका वर्षहरुमा दसै आउने समयमा दैनिक ४० हजार सम्मको व्यापार हुनेमा हाल १० हजारको समेत व्यापार हुन छोडेको बताए । सघींय सरकार आएपछि जिल्ला सदरमुकाममा चहलपहल समेत घटेकाले ब्यापारमा मन्दी आएको छ । विगतका वर्षहरुमा इलामका दश वटै स्थानीय तहबाट मानिसहरुको ओहेरदोहोर हुने गर्दथ्यो भने यस वर्ष सबै स्थानीय निकायहरुमा नै काम हने गरेको र नभएका काम सदरमुकाम आउनुपर्ने भएकाले आवतजावत पातलिदैँ गएको हो । सर्वसाधारणले उत्पादन गरेको वस्तुको मुल्य भने खासै बढेको पाइदैँन । बजारबाट घरमा भित्रने वस्तुको मुल्य बृद्धि भएको स्थानीयको भनाई छ । बिचौलियाले मुल्य वढाइँदिँदा उपभोक्ताले महंगो मुल्य तिर्न बाध्य भएको वताइएको छ । सर्वसाधारणको आम्दानीमा भने वृद्धि हुन सकेको छैन । दैनिक उपभोग्य सामाग्रीको मुल्य बृद्धिले निम्न आय भएकाहरुलाई सबैभन्दा बढी असर पर्ने गरेको छ । वर्षेनी करिव १० देखी १५ प्रतिशत सम्म मुल्य बृद्धि हुने गरेको छ । यसरी वर्षमा करिब १० प्रतिशतको हाराहारीमा उपभोग्य वस्तुको मूल्य वृद्धि भए पनि सर्वसाधारणको आम्दानीमा भने वृद्धि हुन सकेको छैन । मूल्यवृद्धि अधिकांश सर्वसाधारणको टाउको दुखाइको विषय बनेको छ । स्थानीय मीना सुवेदीले प्रशासन र उद्योग वाणिज्य संघले यसतर्फ चासो नदेखाउँदा पनि समस्या भएको वताइन् । वजारमा ब्यापारीहरुले कृतिम अभाव सृजना गरेर पनि मुल्य वढाएको भन्दै अनुगमनलाई नियमितता दिनु पर्ने वताइन् । तरकारी देखि लत्ताकपडा सबैको मूल्य बढी भएकाले दैनिक जिवन कस्टकर बन्न थालेको बताइन् । दैनिक उपभोग्य सामानसँगै दलहन, गेडागुडी, लत्ताकपडा, जुत्तासहित घरायसी सामान तथा सेवाको मुल्य समेत अत्याधिक बढेको छ । मूल्यवृद्धिको अनुपातमा सरकारी कर्मचारी, संस्थानमा काम गर्ने कर्मचारीको तलब भत्ताबाहेक सर्वसाधारणको आम्दानीमा भने वृद्धि भएको छैन । कृषी क्षेत्रमा काम गर्ने मजदुरको पनि ज्याला वढ्न सकेको छैन । मूल्यवृद्धि हुँदै जाने र आम्दानी भने नबढ्ने समस्याका कारण सबै क्षेत्र प्रभावित भएका छन् । मुल्य बृद्धिको सबैभन्दा ठूलो मार कृषक तथा मजदुरलाई परेको छ । कृषि तथा मजदुरी गर्दै जिविकोपार्जन गर्नेहरुले आफूहरुको आयमा वृद्धि नहुने तर चर्को मूल्यवृद्धि हुँदा जिवन निर्वाह गर्न नै कठिनाई पर्ने गरेको गुनासो गरेका छन् । मूल्यवृद्धि हुने र क्रय शक्ति घट्ने क्रम जारी रहेकाले मुलुकको आर्थिक अवस्था नाजुक हुनेतर्फ सचेत रहन सर्वसाधारणले अपील गरेका छन् । उनीहरुले कृषिजन्य वस्तु र ज्याला समायोजन गर्न सरकारसँग माग गरेका छन् । यता ब्यापारीले भने आफुहरुलाई नै मुल्य वढाएर आएका कारण मुल्य बढाएर नै बेच्नु परेको बताउँछन् । मुल्य वृद्धिका कारण मुलुकका अधिकांश क्षेत्र प्रभावित छन् । त्यसमाथि कालोबजारीले सर्वसाधारणको ढाड सेकिने क्रम जारी छ । तर सरकारले प्रभावकारी अनुगमन गर्न सकेको छैन । सँगै दैनिक उपभोग्य वस्तुको अचानक मुल्य बृद्धिले इलामका उपभोक्ता मारमा परेका छन् । उपभोक्ताको भान्सामा नभइ नहुने वस्तुहरुको अचानक भएको मुल्य बृद्धिले दशैँ महंगो हुने निश्चित छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी देखिएको छ । जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले विगत वर्षभन्दा बजारमा सुधार आएको वताए । उनले अब अनुगमनलाई तिव्रता दिइने समेत वताए । जिल्लाका मुख्य बजार फिक्कल,इलाम,मंगलबारे लगायतमा नियमित बजार अनुगमन हुने गरेका बताए । उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन गर्ने गरेको बताए । अनुगमनमा जिल्लामा कालोबजारी नभएको र बजार समेत व्यवस्थित भएको उनको भनाई छ । चाडपर्वलाई लक्षित गरि ब्यापारीले मूल्य बढाएको पाइएमा उपभोक्तालाई समेत ध्यानाकर्षण गराउन आह्वान गरेका छन् ।