पथरी । पथरीशनिश्चरे–१, स्थीत पथरीबजार घर भएकी दुवै मृगौला पीडित सरिता लिम्बु मिश्रलाई बचाउनका लागि अभियान सुरु गरेको छ । पथरीको शान्ति भुल्के सिमसारमा पत्रकार सम्मेलनको आयोजना गरी मृगौला पीडित लिम्बु मिश्रलाई सोमबारबाट अभियान थालिएको हो । दुवै मृगौला फेल भएर उपचार गराइरहेकी सरिता बचाउनका लागि बचाउ अभियानको समूह नै बनाएर आर्थिक संकलन थालिएको छ । स्थानीय अगुवा धन कुमार तामाङको संयोजकत्वमा ६९ सदस्यीय समिति गठन आर्थिक संकलन सुरु गरिएको छ । अहिलेसम्म समितिले ९० हजार बराबर रकम पनि संकलन गरिएको संयोजक तामाङले जनाए । हालसम्म सरिताको उपचारका लागि परिवारले १२ लाख खर्च गरिसकेको पत्रकार सम्मेलनमा जनाएको छ । उनको उपचारका लागि अझै ५० देखि. ६० लाख सम्म लाग्ने अस्पतालले जनाएको सरिताका श्रीमान योगेन्द्र मिश्रले बताएका छन् । मिश्रको मृगौला प्रत्यारोपण नै गर्नु पर्ने भएको छ । उनलाई मिल्ने मृगौला पनि पाएको तर आर्थिक अवस्था कमजोर भएका कारण नै प्रत्यारोपणमा समस्या भएको दुःख योगेन्द्र मिश्रले पोखेका थिए । सो पत्रकार सम्मेलनमा वडा नं. १ का वडा अध्यक्ष बाबुराम एङ्देनले पनि नगरबाट सहयोगका लागि समन्वय गर्ने र हरेक वडामा पनि अध्यक्षहरुसँग समन्वय भइरहेको बताएका छन् । अहिले सरिता ३७ वर्षकी भइन् । वैदेशिक रोजगारीका क्रममा दुवइमा रहेका योगेन्द्र पनि श्रीमति बिरामी भएपछि रित्तो हात घर फर्किएका छन् । योगेन्द्र र सरिताको २ सन्तान रहेको छ । बिरामी सरिताको श्रीमान योगेन्द्र मिश्रले गहभरि आँसु पार्दै भने–‘विदेशमा पनि मेरो कमाई राम्रो थिएन । श्रीमती विरामी भएपछि उनको उपचारमा भए भरको सबै सम्पत्ति खर्च गरियो । सबैसँग सहयोगको आशा राखेको छु ।’