विराटनगर । विराटनगरमा जारी प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगितामा झापाको काँकडभित्ता भेट्रान क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद रंगशालामा मंगलबार भएको खेलमा एभरेष्ट भेट्रान क्लब कानेपोखरीलाई ५–१ गोलको फाराकिलो अन्तरले पराजित गर्दै काँकडभित्ताले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । जितसँगै काँकडभित्ताले सेमिफाइनलमा झापाली टोली विर्तामोड भेट्रान क्लबसंग प्रतिस्पर्धा गर्ने भएको हो । काँकभक्तिाको जितमा लाक्पा लामाले चार र रमेशकुमार बस्नेतले एक गोल गरे । खेलको अन्तिम समयमा कानेपोखरीका कुमुदकुमार लिम्बूले सान्त्वना गोल फर्काए । खेलको ५ औं मिनेटमा रमेशकुमार बस्नेतको पेनाल्टी प्रहारमार्फत गोलको खाता खोल्दै काँकडभित्ताले अग्रता लिएको थियो । कर्नरबाट प्राप्त भएको बललाई क्लियर खोज्दा डिबक्स भित्र कानेपोखरीका संजीव बुढाथोकीको हातमा लागेपछि काँकडभित्ताले पेनाल्टीको अवसर पाएको थियो । ३८ औं मिनेटमा काँकडभित्ताका लाक्पा लामाले गोल गरेर अग्रता दोब्बर बनाएपछि खेल २–० को अवस्थामा पुगेको थियो । ५२ औं मिनेटमा लाक्पा लामा वान भर्सेस वानको स्थितीमा गोल गर्न सफल भए । ६२ औं मिनेटमा लाक्पा लामाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रीक पूरा गरे । ६८ औं मिनेटमा लाक्पाले नै चौथो गोल गर्दै काँकडभित्तालाई फराकिलो गोल अन्तरले जित दिलाए । ७० औं मिनेटमा कानेपोखरीका कुमुदकुमार लिम्बूले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दी म्याच खेलमा एक्लै चार गोल गरेका लाक्पा लामा घोषित भए । बुधबारको पहिलो सेमिफाइनल खेलमा पूर्वाञ्चल भेट्रान क्लब दमक र धरान भेट्रान क्लबबीच प्रतिष्पर्धा हुने छ ।