पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लामा पार्टी कार्यालय स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेकपाका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाएर पार्टी कार्यालयको उद्घाटन गरे ।

नेकपाले तत्कालीन नेकपा एमालेको कार्यालयमै पार्टी कार्यालय स्थापना गरेको हो । पाँचथरमा पार्टी एकता प्रक्रिया पूरा भएको छैन । एकता प्रक्रिया पूरा नहुँदा पार्टीको विभिन्न गतिबिधि सञ्चालनमा समस्या देखिएको भन्दै प्रदेश कमिटिको निर्देशन अनुसार पार्टी कार्यालय स्थापना गरिएको नेताहरुले बताएका छन् ।

जिल्लामा एकता प्रक्रियालाई टुंगोमा पु¥याउँन बनेको कार्यदलले पर्याप्त गृहकार्य गरिरहेको कार्यदलका सदस्य समेत रहेका केन्द्रीय सदस्य सम्बाहाम्फेले बताए । कार्यदलले नेकपाका स्थानीय कमिटीहरु, पेशागत, भातृ तथा जनवर्गीय संगठनहरु, विभाग तथा मोर्चाहरुको जिल्ला कमिटीको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिस गर्ने बताइएको छ । ८ सदस्यीय कार्यदलमा केन्द्रीय सदस्य सम्बाहाम्फे सहित जिल्ला नेताहरु हर्कबहादुर नेम्वाङ ‘मिक्सो’, राजकुमार भण्डारी, विशाल रसाइली, होमबहादुर जवेगू, भुवानीप्रसाद लिङ्देन, दिनेश लावती र तिवेन्द्रराज चापागाई रहेका छन् ।