
बिर्तामोड/ इलाका प्रहरी कार्यालय बिर्तामोडले लागूऔषध कारोबार तथा ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिर्तामोड नगरपालिका–४ बस्ने खिनाकुमारी बुढाथोकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने मौसम माझीलाई पक्राउ गरेको हो ।
घरभाडाको विषयमा भएको विवादका क्रममा बुढाथोकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने माझीलाई खोजतलास गरेर पक्राउ गरिएको बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले बताए ।
यसैगरी बिर्तामोड–२ मा लागूऔषध ब्राउन सुगर बिक्री गर्दै आएका ध्रुव प्रधान, भीम सुब्बा, भीमबहादुर चौहान र भानुभक्त ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट १८ ग्राम ब्राउन सुगर र तौल गर्ने तराजुसमेत बरामद गरिएको कोइरालाले बताए ।
लागूऔषध तौल गर्ने काँटासहित कारोबारी पक्राउ परेको झापामा यो दोस्रो पटक हो ।
यसअघि बिर्तामोड–४ मा सोही प्रकारका सामग्रीसहित कारोबारी फक्राउ परेका थिए ।
महिलामाथि अपशब्द बोल्दै दुव्र्यवहार गर्ने अर्जुनधाराका साझामल आलमलाई पक्राउ गरिएको उनले बताए ।
यस्तै महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा इलामका मुकुन्द मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी मानिसलाई सार्वजनिक स्थानमा धाक धम्की दिई अपशब्द बोलेको अभियोगमा अर्जुनधाराका उमेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।