भद्रपुर । चाडपर्व नजिकिएको मौका छोपी तस्कर समूहले भद्रपुर बजारमा बिक्री बितरणका लागि भारतबाट चोरी निकासी बाटो प्रयोग गरि नेपाल भित्राउँदै गरेको करिब २ लाख ७० हजार मूल्य बराबरको खसी र बाख्रा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल झापा गण नम्बर २ का सशस्त्र प्रहरीका इन्सपेक्टर अगमबहादुर राई र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले भद्रपुर ५ स्थित गणेश मन्दिर पूर्व दोभानबाट उक्त मुल्य बराबरको खसी र बाख्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बुधबार विहान पौन ७ बजे २६ वटा खसी र २ वटा बाख्रा बरामद गरेको जिल्लाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जनाए । प्रहरीलाइ देख्ने वित्तिकै तस्कर भागेको प्रहरीले जनाएको छ ।

खसीको २ लाख ६० हजार र बाख्राको १० हजार मूल्य कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ । खसी बाख्रा बरामद गर्न दुवै तर्फका १३ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । भद्रपुरमा हप्ताको दुइ दिन वुधबार र शनिबार बजार लाग्ने गरेको छ । चाडपर्वमा मासुको माग बढी हुने भएकोले उनिहरुले भद्रपुर बजार ल्याउदै गरेको प्रहरीले जनाएको छ । जमुना बरामद गरिएका खसी बाख्रा जमुनापारी जातको भएको वुझिएको छ । बरामद गरिएको खसी बाख्रालाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जनाईएको छ । भारतबाट पशुपन्क्षी भित्र्याउन नेपालमा प्रतिबन्धित लगाईए पनि प्रहरीको आँखा छलेर कारोबारीले ओसार पसार गरिरहेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।