विराटनगर/जन्मदै दृष्टिविहीन मोरङको पथरीशनिश्चरे–५ खर्सानटोलकी सबना खातुनले चारवर्षपछि बाहिरी संसार देखिन् । आत्मिक आँखाले संसार नियालिरहेकी उनले चारवर्षपछि बाबुआमा, साथीभाइ नियाल्न पाउँदा खुशीलाई शब्दमा वर्णन गर्न कठिन हुने उनका परिवार बताउँछन् ।

विराटनगर आँखा अस्पतालमा दुवै आँखाको सफल शल्यक्रियापछि संसार देख्न सक्ने भएकी छन् । बाहिरी संसार देखाएकोमा सबनाको परिवार अस्पतालप्रति कृतघ्न छन् ।

सबना पहिलो सन्तान हुन् । आमा सादियाका अनुसार जन्मदै आँखा नखोलेकी सबनाका आँखा विस्तारै खुल्ला भन्ने आशामा महिना हुँदै वर्षौं बित्यो । तैपनि आँखा नखुलेपछि दृष्टिविहीन भएको थाहा पाए ।

दैनिक ज्यालादारी गरेर छाक टार्ने खातुन परिवारको आर्थिक अवस्था नाजुक छ । चुराको बिक्रीबाट घरखर्च चलाउने खातुन परिवारको घरमा विराटनगर आँखा अस्पतालका कर्मचारी ससा खनाल फिल्ड भिजिटका क्रममा पुगेकी थिइन् ।

सवनाको आँखा परीक्षणपछि ‘मोतीबिन्दु’ भएको थाहा पाएर अस्पताल लैजान सुझाव दिइन् । निःशुल्क उपचार हुने भएपछि अस्पताल आएका सवनाको नेत्ररोग विशेषज्ञ डा. ललित सुरिनको टिमले सफल शल्यक्रिया गरेपछि बाहिरी संसार नियाल्न सकिन् ।

बुधबार सबनाको घरमा ब्लाष्टकर्मी पुग्दा उनी स्कुल जाने तयारीमा थिइन् । स्कुलको आन्तरिक परीक्षा दिन उनी हतारिँदै थिइन् । सञ्चारकर्मीलाई देखेपछि आमाको काखमा बस्दै भनिन्, ‘अब मलाई हिँडडुल गर्न कसैको सहारा चाहिँदैन । आफै स्कुल जान्छु, अनि खाना पनि आफै खान्छु ।’

उनी युकेजीमा अध्ययनरत छिन् । ‘पहिले खान र बस्न अरूको सहारा लिनुपथ्र्यो’– आमा सादियाले मुख खोलिन् । सबनालाई हेरेर अहिले अभिभावक दङ्ग छन् । सादियाले भनिन्, ‘पहिलो सन्तान छोरी, त्यसमाथि पनि दृष्टिविहीन हुँदा धेरै पीडा सहनुप¥यो । शुरुमा मलाई हेला गरे ।’

मोरङको पथरीशनिश्चरे–५ स्थित सुनदह इङ्लिस स्कुलमा पढ्ने उनको पढाइ राम्रो रहेको स्कुलका प्रिन्सिपल प्रेमबहादुर चापागाईंले बताए ।