भद्रपुर/झापाको पूर्वीनाका काँकडभिट्टाबाट एक थान चाइनिज पेस्तोल, बम बनाउने सामग्री र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

एक साताअघि भारतीय कारबाट प्रहरीले ठूलोमात्रामा लागूऔषध बरामद गरेपछि भारतीय गाडीलाई प्रहरीले निगरानी बढाएसँगै अर्को सफलता हात पारेको हो ।

सोमबार साँझ मेचीनगर–६ बाट डब्लू बी १७४२७००१ को बोलेरो गाडी चेकजाँचका क्रममा लागूऔषधसहित चालक मेचिनगर नगरपालिका–६ का बिशाल लिम्बू र सोही नगरपालिका–८ का अनुप उराँउलाई पक्राउ गरीएको जिल्लाका डिएसपी तथा प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जनाए ।

उनीहरूलाई बुधबार अपरान्ह काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा सार्वजानिक गरिएको छ । पक्राउ भएपछि चालक लिम्बूको मेचीनगर–६ स्थित घरमा खानतलासी गर्ने क्रममा कोठाबाट अवैध सामग्री बरामद भएको डिएसपी बस्नेतले जनाए ।

प्रहरीले ९ थान बिष्फोटक पदार्थको लोला, बिष्फोटक पदार्थ पड्काउने फ्युज केप तारसहित डिटोनेटर ४० थान, नक्कली पस्तोल १ थान, सानो पेस्तोलमा फिट हुने फलामको म्याग्जिन सक्कली १ थान, बारुद ४ सय ४० ग्राम, मोवाइल सेट २ थान, करलेश फोन १ थान , सुनजस्तो देखिने औठी १ थान, सुनजस्तो देखिने घडीको चेन १ थान, आर्मी कलरको कम्ब्याट २ थान बरामद भएको छ ।

त्यसैगरी बाला सुब्बा, सिताराम आङ्देम्बे नामबाट बनाएको नागरिकता थान २, दल बहादुर थापा, बाला सुब्बा र बुद्धमान लिम्बुको सवारी चालक अनुमति पत्र १ थान सुटकेशमा राखिएको अवस्थामा फेला परेको जिल्लाका एसपी भीमप्रसाद ढकालले बताए ।

उनीहरूमाथि अनुसन्धान भइरहेको छ । लागूऔषधमा १५ वर्षदेखि जन्मकैद, ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने उनको भनाइ छ । बिष्फोटक पदार्थमा १० वर्षसम्म र हातहतियारमा ३ वर्षसम्म कैद हुने व्यवस्था रहेको उनले बताए ।