[caption id="attachment_97114" align="alignnone" width="1920"] बेलबारी, ड्राेन फ्लाइट भ्यू । स्राेतः यु ट्युब[/caption]

बेलबारी । मोरङको बेलबारी बजारमा नगरपालिकाले अनुगमन टोली बनाएर गरेको अनुगमनमा अखाद्य वस्तु छ्याप्छाप्ती भेटिएका छन् ।

तीन दिनदेखि गरिएको उत्पादन मिति नाघेका खाद्यवस्तुहरू, बढी मूल्य दरमा सामग्री बिक्री गरेको, मूल्यसूची नराखेको अनुगमनमा फेला परेको छ । बेलबारीमा बेच्न राखिएका मिठाइ पसलमा झिंगा भेटिएको छ ।

केही किराना पसलमा म्याद गुज्रिएका सामग्री भेटिएको बजार अनुगमन समितिका संयोजक तथा नगरपालिकाका शाखा अधिकृत महेन्द्र खड्काले बताए । तर टोलीले पसलहरूको नाम भने खुलाएको छैन ।

त्यसैगरी फेन्सी पसलहरूमा क्रेतासँग तेब्बरसम्मको रकम असुल्ने गरेको अनुगमन समितिले जनाएको छ । चाडपर्व नजिकिँदै जाँदा बेलबारी नगरपालिकाले बजार अनुगमन धमाधम गर्न थालेको हो ।

बेलबारी तथा लालभित्तीमा गरिएको अनुगमनमा अधिकांश पसलहरू दर्ता नभई सञ्चालनमा रहेको सामग्री किनबेच गर्दा बिल प्रयोग नगरेको संयोजक खड्काले बताए ।

त्यसैगरी मासुपसल, सनुपसल इलेक्ट्रोनिक्स, किराना, वस्त्रालय, औषधि पसल, एग्रोभेटलगायतका पसलको अनुगमन गरिएको थियो । अनुगमन टोलीमा प्रहरी, सञ्चारकर्मीसमेत रहेका छन् ।

अनुगमनको क्रममा उपभोक्ता हितविपरीत व्यापार–व्यवसाय गर्ने व्यापारीको नाम सार्वजनिक गर्न र कारबाहीको दायरामा ल्याउन उपभोक्ताले माग गरेका छन् । अनुगमन गर्ने अनि छाड्ने गर्नाले त्यसको नराम्रो सन्देश जाने स्थानीय उपभोक्ताले बताएका छन् ।