इटहरी/ कोशी अञ्चल यातायात व्यवस्था (सवारी) कार्यालयमा करिब २ लाख सवारी धनी लाइसेन्सविहीन रहेको जनाएको छ ।

कोशी अञ्चल यातायातमा ३ लाख ५४ हजार मोटरसाइकल र स्कुटर दर्ता भएका छन् ।

तर लाइसेन्स पाउनेको संख्या मोटरसाइकलमा १ लाख ३९ हजार १ सय ५१ जना र स्कुटरमा ६ हजार ३२ जना छन् ।

सवारी दर्ता संख्याको आधारमा २ लाख ८ हजार ७ सय ८७ जना लाइसेन्सविहीन देखिन्छन् ।

यातायात व्यवस्था कार्यालय कोशीका प्रमुख कृष्ण भुसालले सवारी दर्ताको संख्या बढे पनि लाइसेन्स पाउनेको संख्या कम रहेको बताए ।

उनले अन्य जिल्लाबाट लाइसेन्स लिएको हुनसक्ने अनुमान लगाए ।

एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रवि पौडेलले अहिले पनि अधिकांश सवारी लाइसेन्सविहीन रहेको बताए ।

‘अधिकांश नयाँ मोटरसाइकल तथा स्कुटर चालकसँग लाइसेन्स छैन’ –उनले भने । लाइसेन्स नभए पनि सामान्य जरिवाना तिरेपछि छुट्ने कारण पनि लाइसेन्स नबनाउने प्रहरी बताउँछ ।