भद्रपुर/६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला उत्कृष्ट हुने तीन जना प्रहरी कर्मचारी, जग्गादाता र अमर प्रहरी परिवारजनलाई सम्मान गर्दै विविध कार्यक्रमका साथ झापामा पनि मनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले विहीबार झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल मार्फत अमर प्रहरी स्तम्भमा माल्यार्पण गर्दै कार्यक्रम मनाएको हो ।

कार्यक्रममा प्रहरी कार्यालय झापाले उत्कृष्ट प्रहरी कर्मचारीतर्फ प्रहरी हवल्दारद्धय टेकिन्द्र सेन्दाङ, रुपक अधिकारी र प्रहरी जवान मधुनारायण श्रेष्ठलाई नगद सहित प्रशंसा पत्र दिई पुरस्कृत गरेको थियो ।

प्रहरी कार्यलयलाई निःशुल्क जग्गा दान गरेका जग्गादाता जीवनकुमार लिङ्गदेन र वेदनाथ न्यौपानेलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै जिल्ला शिक्षा समन्वय ईकाई झापाको समन्वयमा यौनजन्य हिंसाको कारण रोकथाम र नागरिकको भूमिका बिषयक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुने कविशिरोमणि मावि कक्षा १० मा अध्ययनरत छात्रा बिद्या बेगालाई नगद पाँच हजार, द्धितिय हुने नर्थ प्वाईन्ट इङ्गलिस स्कुलका कक्षा ११ मा अध्ययनरत छात्रा प्रवेशिका थाम्सुहाङ्गलाई नगद तीन हजारसहित पुरस्कृत भएका थिए ।

त्यसैगरी नेपाल प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय सदस्य तथा साहित्यकार बिन्दु अधिकारी (ढकाल)ले वीर अमर प्रहरीका परिवार १७ जनालाई दोसल्ला ओढाई सम्मान गरेकी थिइन् । नेपाल प्रहरी सङ्गठनले पठाएको शुभकामना सन्देश प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बाचन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरी, सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीका अध्यक्ष दुर्गाप्रसाद पाठक, झापा उद्योग बाणिज्य सङ्घ भद्रपुरका अध्यक्ष नवराज पनेरु, नेपाल पूर्व प्रहरी सङ्गठनका केन्द्रीय सदस्य ईन्द्रप्रसाद ओली, नेपाली काँङ्ग्रेसका उपसभापति राम कट्टेल लगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले राखेका थिए भने सञ्चालन इन्सपेक्टर कुलप्रसाद चौधरीले गरेका थिए ।