पानवारी । धरानमा दशै तथा तिहारको अवसरमा मेला लाग्ने भएपछि मेलाको पक्ष तथा विपक्षको आवाज सतहमा आएको छ ।
बिहीबार बसेको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले धरान–१२ को छिमेकी युवा समुह र धरान–६ को सयपत्री बोइज युनियन क्लबलाई मेला लगाउन अनुमति दिएपछि दुवै पक्षको बहसले अहिले धरान तातिएको छ ।
छिमेकी युवा समुहले धरानको पब्लिक स्कुलमा २८ दिनसम्म मेला लगाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ भने नेपाली कांग्रेस धरान उपमहानगर समितिले कुनैपनि हालतमा मेला लगाउन नहुने भन्दै शुक्रबार पत्रकार सम्मेलन नै गरेको छ । धरानमा छिमेकी युवा समुहले सस्तो बजार तथा सुलभ साँस्कृतिक उत्सव गर्न लागेको हो भने सयपत्री बोइज युनियन क्लबले पानवारी महोत्सवको आयोजना गर्न लागेको हो ।
छिमेकी युवा समुहले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी धरान–१२ स्थित पब्लिक स्कुलको खेल मैदानमा कात्तिक १ गतेदेखि २८ गतेसम्म मेला लगाउने बताएको छ । मेलाबाट उठेको रकमले स्तरीय एम्बुलेन्स खरिद गरी सेवा दिने छिमेकी युवा क्लबका अध्यक्ष राजेन्द्र राईले बताएका छन् । उता सयपत्री बोइज युनियन क्लबका सचिव विश्वजीत राईले भने ग्रामिण क्षेत्रमा रहेका स्थानीयलाई चाडबाडको बेला साल्ट ट्रेडिङसँग सहकार्य गरी दैनिक उपभोग्य वस्तुको विक्रि गर्ने तथा सुपथ मुल्यका कपडा विक्री गर्ने र बालबालिकालाई मनोरञ्जनका लागी रोटेपिङ लगाउने उद्देश्य रहेको भएपनि धरान उपमहानगरपालिकाले बेलैमा निर्णय नगर्दा कार्यक्रम सम्पन्न गर्न गाह्रो भएको र मेला लगाउने नलगाउने भन्ने अन्यौल भएको बताए ।
धरानको दुई स्थानमा मेला लगाउने तयारी भइरहदा मेलालाई सुरक्षा दिन सक्ने नसक्ने बारे इलाका प्रहरी कार्यालय धरानका डिएसपी अन्यौलमा छन् । उनी भन्छन् –‘प्रहरीमा अहिले उपब्ध भएका जनशक्तिले मेलामा सुरक्षा दिन सकस पर्छ ।’ उनका अनुसार चाडबाडमा तेसै पनि सुरक्षा चुनौति बढ्छ । विशेष गरी राती अबेरसम्म हुने होटल व्यवसाय, मन्दिर तथा सार्वजनिक चौकमा हुने भिडभाडमा सुरक्षा बढाउनु पर्ने हुन्छ । भुटाहा घटनाले समेत सुरक्षा चुनौति थपिदिएको छ । यस्तो अवस्थामा मेलाको सुरक्षा चुनौतिपूर्ण हुनसक्छ । यद्यपी उनले धरान उपमहानगरपालिकाका सुरक्षा दस्ता, शसस्त्र प्रहरी तथा आयोजकले राख्ने सेक्युरिटी गार्डसँगको समन्वय राम्रो भएको खण्डमा सुरक्षा व्यवस्थामा मिलाउन सक्ने बताए ।
नेपाली कांग्रेस धरान नगर सभापति तिलक राईले धरान उपमहानगरपालिकाले मेला लगाउने अनुमति दिएर संस्थागत रुपमा अनियमितता गरेको आरोप लगाएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति राईले मेलामा जहिले युवाहरुबीच झगडा हुने गरेको र धेरै पैसाको चलखेल हुने गरेको भन्दै मेला लगाउन नहुने तर्क राखे । उनले भने –‘हामी मेला लगाउनै हुँदैन भन्ने पक्षमा होइनौ, मेला लगाउनुपर्छ, सस्तो बजार लगाउनुपर्छ, कम्पनीले उत्पादन गरेका वस्तुहरु सस्तो मुल्यमा उपभोत्ताले पाउनु पर्छ तर मेलाको नाममा अतिरञ्जीत भिड गराएर विकृति तर्फ लैजान हुदैन । प्रहरीले सुरक्षा दिन गाह्रो हुन्छ भनिरहेको बेला मेलामा हुने जोखिमको जिम्मा कसले लिन्छ ?’
यता धरान उपमहानगरपालिकाले भने मेलाको अनुगमन गर्नका लागी १५ नं. का वडाध्यक्ष नरेश इवारमको संयोजकत्वमा एक समिति गठन गरेको छ । इवारमले भने मेलामा कानुनले बर्जित गरेका कुराहरु राख्न पाइदैन । अनावश्यक शुल्क लिन पाइदैन र सुरक्षाका लागी सेक्युरिटी र सिसिक्यामेरा अनिवार्य हुनुपर्छ । उनका अनुसार कानुनले बर्जित गरेका कुरा मेलामा भएको पाइए मेला तत्काल बन्द गराउने समेत बताए ।