विराटनगर/ ६३ औं प्रहरी दिवसको अवसरमा १ नम्बर प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरीलाई पुरस्कृत गरेको छ ।
प्रहरी दिवशको अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ बाट दुई प्रहरी पुरस्कृत भएका हुन् । उक्त पुरस्कारबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समूहमा कार्यरत प्रहरी निरीक्षक लेखनाथ दाहाल र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गा पोमु लिम्बूलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत प्रहरी कर्मचारीलाई पुरस्कार संस्थापक प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले जनही ४५–४५ हजारले पुरस्कृत गरेका थिए । सोही अवसरमा ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’का संस्थापक प्रा.डा. श्रेष्ठलाई प्रमुख अतिथि प्रदेशका मन्त्री शेरधन राईले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
त्यस्तै प्रहरी कार्यालयहरूलाई आफ्नो अमूल्य जग्गा दान गर्ने दाताहरूलाई कदर–पत्र प्रदान गरियो ।
त्यस्तै ०७४ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने बहालवाला तथा पूर्व प्रहरी कर्मचारीका सन्ततीहरूलाई छात्रवृति प्रदान गरियो ।
प्रदेशअन्तर्गतका विद्यालयहरूमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको ‘यौन हिंसाका कारण, रोकथाम र नागरिकको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा जिल्ला स्तरमा प्रथम र द्वितीय हुने निबन्धहरूलाई सङ्ग्रहको रूपमा प्रकाशित गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः कोशी माध्यमिक विद्यालय रामपुर उदयपुरमा कक्षा–१० मा अध्ययनरत छात्रा मोनिका कार्की, श्रीजङ्गा माध्यमिक विद्यालय हिलिहाङ पाँचथरमा कक्षा–१० मा अध्ययनरत छात्रा बिपना बराइली र श्री भाषा माध्यमिक विद्यालय धनकुटामा कक्षा–९ मा अध्ययनरत छात्रा समीक्षा अधिकारीलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।